धनगढी –
कैलालीमा होटलमा बसेका एक युवकमाथि मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको छ। होटलभित्रै बसेका युवामाथि धारिलो हतियार प्रहार भएपछि घटनाले युवाहरूबीच बढ्दै गएको हिंसात्मक प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ।
टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका व्यक्तिहरूको समूहले होटलमै पुगेर साउदमाथि खुँडा प्रहार गरेको थियो। आक्रमणबाट उनको दाहिने हात र खुट्टामा चोट लागेको छ।
घाइते साउदलाई तत्काल उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
खुँडा प्रहार गर्ने समूह घटनापछि फरार भएको बताइएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलिनसकेको र उनीहरूको खोजी भइरहेको जनाएको छ।
केही दिनअघि बाराको जितपुरसिमरा क्षेत्रमा होटलमा आफ्नै साथीसँग बसेका एक युवकको घाँटी रेटेर हत्या गरिएको घटना सेलाउन नपाउँदै कैलालीमा पनि होटलमै बसेका युवकमाथि खुँडा प्रहार भएको हो।
लगातार होटल तथा सार्वजनिक स्थानमै युवाहरूमाथि धारिलो हतियार प्रयोग भएका घटनाले सामान्य विवादसमेत ज्यानै लिने तहको हिंसामा परिणत हुन थालेको संकेत गरेको छ। कैलालीको पछिल्लो घटनाले युवाहरूमा बढ्दै गएको हतियार प्रयोग र हिंसात्मक प्रवृत्तिबारे थप गम्भीर प्रश्न खडा गरेको छ।












