२०८३ आश्विन ६ गते, मंगलवार १०:२५

मधेसमा वर्षाको जोखिम बढ्यो : आजदेखि बिहीबारसम्म भारी वर्षाको चेतावनी

वीरगन्ज-

मधेस प्रदेशमा आगामी तीन दिन वर्षाको जोखिम बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आजदेखि बिहीबारसम्म मधेसका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाका अनुसार आज मंगलबार राति मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बुधबार पनि मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार दिउँसो मधेस प्रदेशसहित कोसी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बुधबार राति भने कोसी, वाग्मती र गण्डकी प्रदेशका विभिन्न भू–भागमा समेत भारी वर्षाको सम्भावना रहेको छ।

तर, बिहीबार मधेस प्रदेशमा वर्षाको जोखिम अझ बढ्ने पूर्वानुमान गरिएको छ। बिहीबार दिउँसो मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ।

बिहीबार राति भने मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।

भारी वर्षाका कारण मधेस प्रदेशका तल्लो भू–भागमा पानी जम्ने, सडक तथा यातायात प्रभावित हुने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

विशेषगरी नदी, खोला तथा जलमग्न हुने क्षेत्र आसपासका बासिन्दाले मौसमको अवस्था र स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन महाशाखाले आग्रह गरेको छ। भारी वर्षा भइरहेका बेला अनावश्यक रूपमा नदी, खोला तथा जोखिमयुक्त सडक र क्षेत्रतर्फ नजानसमेत सर्वसाधारणलाई सुझाव दिइएको छ।

मौसममा आएको परिवर्तनसँगै मधेसका ग्रामीण तथा सहरी क्षेत्रमा सम्भावित डुबान र जलजन्य जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह तथा सुरक्षा निकायले पनि पूर्वतयारी र उद्धार व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस