२०८३ आश्विन ७ गते, बुधबार १०:४४

ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ

वीरगन्ज –

जिल्ला प्रहरी कार्यालय पर्साले गएराति १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६, माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।

लागूऔषधको खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार साँझ करिब ७ बजे वीरगन्ज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डमा बसपार्कतर्फ जाँदै गरेको भारतीय नम्बरको बीआर ०५ बीएल १६८० मोटरसाइकल रोकेर जाँच गर्दा उनीहरूको साथबाट १५४ ग्राम ब्राउन सुगर बरामद भएको थियो।

ब्राउन सुगर बरामद भएपछि दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए।

उनीहरूले लगाएको पाइन्टको खल्तीमा लागूऔषध लुकाएर राखेको अवस्थामा फेला परेको मल्लले बताए।

त्यसपछि प्रहरीले सन्तोष प्रसाद पटेलको घरमा समेत खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाएर राखिएको ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थ र लागूऔषध प्याकिङ गर्न प्रयोग हुने प्लास्टिकसमेत बरामद गरेको सूचना अधिकारी मल्लले जानकारी दिए।

बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस