इलाम –
इलाममा ट्रकमा बनाइएको गोप्य कोठाबाट प्रहरीले १ हजार ५०४ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
इलाम नगरपालिका–९ स्थित भञ्ज्याङमा चेकजाँचका क्रममा ना.४ ख ८९९६ नम्बरको ट्रकको भुइँमा बनाइएको गोप्य कोठा (फल्स बटम) बाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
सवारी व्यवस्थापनका लागि भञ्ज्याङको बिग्रिएको सडकमा खटिएको प्रहरी टोलीले ट्रकलाई रोकेर विस्तारै अघि बढ्न आग्रह गरेको थियो । त्यसक्रममा ट्रकका चालक सवारीसाधन छाडेर फरार भएपछि शंका लागी ट्रकको चेकजाँच गर्दा तल्लो भागमा गोप्य कोठा बनाइएको फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उक्त गोप्य कोठाबाट ४१ वटा बोरामा राखिएको १ हजार ५०४ किलोग्राम गाँजा बरामद भएको हो ।
प्रहरीले बरामद गाँजा र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । फरार चालकको खोजी भइरहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।











