इटहरी –
बिरामी बोकेर अस्पताल दौडिनुपर्ने एम्बुलेन्स नै ठूलो परिमाणमा गाँजा तस्करीका लागि प्रयोग भएको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित पानीपिया जङ्गलमा बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सबाट प्रहरीले ४५० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको हो ।
मध्यरातमा जङ्गलको सडकछेउमा बेवारिसे अवस्थामा भेटिएको एम्बुलेन्सभित्र प्रहरीले खानतलासी गर्दा प्लास्टिकले बेरेर पोका बनाइराखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला पारेको थियो ।
प्रहरी चौकी तरहरा, सुनसरीबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार राति कोशी लोकमार्गको ४ नम्बर ट्र्याक नजिकै शङ्कास्पद अवस्थामा रहेको बा.२ च ९५७३ नम्बरको एम्बुलेन्स फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त एम्बुलेन्स ‘त्रिवेणी सांस्कृतिक समूह’ को नाममा रहेको खुलेको छ ।
प्रहरीका अनुसार एम्बुलेन्सभित्र गाँजा फेला परेपछि तस्करीमा संलग्न व्यक्तिहरूले प्रहरीको गतिविधिबारे सुइँको पाएर वा अन्य कुनै कारणले एम्बुलेन्स र गाँजा जङ्गलमै छाडेर फरार भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बिरामीको जीवन बचाउन प्रयोग हुने एम्बुलेन्सजस्तो संवेदनशील सवारीसाधनलाई नै अवैध लागुऔषध ओसारपसारमा प्रयोग गरिएको घटनाले सुरक्षा निकायलाई समेत झस्काएको छ । यस घटनाले तस्करहरूले सुरक्षा जाँचबाट जोगिन सामान्य तथा संवेदनशील सेवाका सवारीसाधनसमेत प्रयोग गर्ने गरेको आशङ्का थप बलियो बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स कसले चलाइरहेको थियो र गाँजा तस्करीमा को–को संलग्न थिए भन्ने विषयमा इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।
बरामद ४५० किलोग्राम गाँजा र एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एम्बुलेन्सको स्वामित्व, चालक तथा सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।











