वीरगन्ज –
नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारीलाई तीव्रता दिँदै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशका ५५ जिल्लामा संयोजक तोकेको छ । तर कांग्रेसको संगठनका हिसाबले महत्वपूर्ण मानिने मधेस प्रदेशका आठै जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिले विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गराउन संयोजक तोक्दै गए पनि मधेसका आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिम्मेवारी नदिइनुले देउवा समूहको मधेस तयारीलाई लिएर चासो बढेको छ ।
देउवा समूहले आगामी असोज १५ गते वडा अधिवेशन सुरु गर्ने तथा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । यसका लागि जिल्ला तहदेखि संगठनात्मक संरचना तयार पार्ने क्रममा ५५ जिल्लामा संयोजक तोकिएको नेता एनपी साउदले बताएका छन् ।
डा. शशांक कोइरालाले नै संयोजकहरूलाई जिम्मेवारी तोक्दै पत्र दिइरहेका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा संयोजक तोकिए पनि मधेस प्रदेश भने यस सूचीमा परेको छैन ।
मधेसका आठै जिल्ला किन छुटे ?
कांग्रेसको पछिल्लो आन्तरिक शक्ति समीकरण हेर्दा मधेस प्रदेश देउवा समूहका लागि महत्वपूर्ण आधार क्षेत्रका रूपमा देखिन्छ । यसअघि प्रकाशित विवरणअनुसार मधेस प्रदेशका आठै जिल्ला सभापति देउवा पक्षतर्फ खुलेका थिए ।
यस्तो अवस्थामा अन्य प्रदेशका अधिकांश जिल्लामा संयोजक तोकिसक्दा मधेसका आठै जिल्लामा संयोजक नतोकिनुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, संयोजक नतोक्नुको कारणबारे देउवा समूहबाट औपचारिक रूपमा स्पष्ट कारण सार्वजनिक भएको छैन ।
मधेसमा संगठनात्मक तयारीका लागि स्थानीय नेतृत्व, क्रियाशील सदस्यता, अधिवेशन व्यवस्थापन तथा विभिन्न तहका समिति गठनजस्ता काम बाँकी रहेकाले समयमै संयोजक तोकिने वा नतोकिइने विषयले आगामी अधिवेशन प्रक्रियामा प्रभाव पार्न सक्नेछ ।
कुलन जिल्लामा कोबने सइोजक
कोशी प्रदेश — ८ जना
- पाँचथर — डेकेन्द्र कुमार तामाङ
- झापा — कृष्ण हुमागाई
- संखुवासभा — रामकुमार जीसी
- भोजपुर — धर्मराज राई
- मोरङ — सुभाष पौडेल
- खोटाङ — रोजन राई
- ओखलढुंगा — बालगोविन्द राजभण्डारी
- उदयपुर — बसन्त बस्नेत
सहसंयोजक: मोरङ — विनायक पन्त, उदयपुर — गोविन्द चाम्लिङ
बागमती प्रदेश — ११ जना
- दोलखा — ताराबहादुर खड्का
- रामेछाप — जीतबहादुर मगर
- रसुवा — उपेन्द्र लम्साल
- धादिङ — गोपाल बिक
- नुवाकोट — श्रीराम श्रेष्ठ
- सिन्धुपाल्चोक — लालकाजी तामाङ
- चितवन — मिलन श्रेष्ठ
- मकवानपुर — भिम लामा
- भक्तपुर — दुर्लभ थापा
- ललितपुर — सुदर्शन घिमिरे
- काठमाडौं — जयकृष्ण महर्जन
सहसंयोजक: दोलखा — जयराम श्रेष्ठ
गण्डकी प्रदेश — ८ जना
- गोरखा — भुगोल थापा
- लमजुङ — रामकृष्ण कँडेल
- कास्की — ऋषिराम काफ्ले
- मनाङ — नाचोङ गुरुङ
- पर्वत — रामकृष्ण मल्ल
- म्याग्दी — हिराबहादुर पुन मगर
- बागलुङ — सागर छन्त्याल
- नवलपुर — अशोक बस्ताकोटी
लुम्बिनी प्रदेश — १२ जना
- नवलपरासी पश्चिम — विकाश घिमिरे
- रुपन्देही — गुनाखर भुर्तेल
- कपिलवस्तु — अब्दुल मन्नान खाँ
- पाल्पा — माधव नेपाल
- अर्घाखाँची — लक्ष्मण पाण्डे
- गुल्मी — बेदबहादुर थापा
- रुकुम पूर्व — दत्तबहादुर बस्नेत
- रोल्पा — मानबहादुर खत्री
- प्यूठान — ईश्वरसिंह विष्ट
- दाङ — गोपालराज शर्मा
- बाँके — कृष्ण कार्की
- बर्दिया — जग्गाप्रसाद पाण्डे
कर्णाली प्रदेश — ८ जना
- डोल्पा — देउप्रसाद बुढा
- जुम्ला — हेम बुडथापा
- मुगु — कर्ण रावल
- हुम्ला — सूर्यबहादुर शाही
- कालिकोट — मातृका सिंह
- जाजरकोट — राजजंग शाह
- दैलेख — मीनबहादुर विश्वकर्मा (मिलन)
- सुर्खेत — ललित भट्टराई
सुदूरपश्चिम प्रदेश — ८ जना
- बाजुरा — धनराज पण्डित
- बझाङ — हर्कजंगबहादुर सिंह
- डोटी — नरेन्द्रबहादुर सिंह
- दार्चुला — सुरेन्द्र अवस्थी
- बैतडी — वीरबहादुर विष्ट
- डडेलधुरा — डिल्लीराज जोशी
- कञ्चनपुर — पदम बोगटी
- कैलाली — खेमबहादुर डगौरा थारु
सहसंयोजक: कैलाली — राम समझ राना











