काठमाडौँ —
अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानबाट धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएकी ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा २०६८ भदौ १६ गते दर्ता भएको ‘शाही मनि ट्रान्सफर’ को नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गर्दै आएकी थिइन्। कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक लगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको देखिएको छ।
विदेशमा विभिन्न असम्बन्धित व्यक्तिहरूले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई, स–साना रकममा विभाजन गरी कनेक्ट आइपीएस जस्ता विद्युतीय माध्यममार्फत असम्बन्धित व्यक्तिहरूको खातामा पठाउने गरेको खुल्न आएको छ।
उक्त कारोबारको सम्बन्धमा थप अनुसन्धानका लागि असोज ६ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। त्यसपश्चात् सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले बिहीबार धरान–५, खैरेनीबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी शाहीविरुद्ध हुण्डीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिएका छन्।











