२०८३ आश्विन ९ गते, शुक्रबार १०:५५

तीन दिन भारी वर्षाको जोखिम : केही क्षेत्रमा अति भारी वर्षा र हावाहुरीको सम्भावना

वीरगन्ज-

देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आगामी तीन दिनसम्म विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने सम्भावना छ ।

हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

यस्तै, मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

शुक्रबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा समेत हावाहुरीको सम्भावना रहेको छ ।

शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । मधेस प्रदेशसहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ ।

शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । वाग्मती र मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ । मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको छ ।

आइतबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह

लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, तराई क्षेत्रमा डुबान हुने तथा सडक अवरुद्ध हुने जोखिम रहन्छ । त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र अत्यावश्यकबाहेक जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ ।

विशेषगरी पहिरोको जोखिम रहेका सडक तथा नदी–खोला आसपासमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने देखिन्छ । वर्षाका कारण सडकको अवस्था अचानक बिग्रन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्नसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।

मौसममा आएको परिवर्तनअनुसार पूर्वानुमान पनि अद्यावधिक हुन सक्ने भएकाले महाशाखाले जारी गर्ने नियमित मौसम तथा बाढीसम्बन्धी सूचना हेरेर मात्र यात्रा र अन्य गतिविधि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस