२०८३ आश्विन ९ गते, शुक्रबार २०:२९

१२ वर्षीय नाबालिकालाई विदेश लैजाने महिलालाई जोगाउन खेलमा पर्सा प्रहरी

वीरगन्ज-

मानव बेचबिखनजस्तो संवेदनशील मुद्दामा पक्राउ परेकी महिलालाई पर्सा प्रहरीले जोगाउन खोजेको आरोप लागेको छ। १२ वर्षीय नाबालिकालाई भारततर्फ लैजाने क्रममा गत बुधबार बिहान वीरगन्जको नयाँ बसपार्कबाट पक्राउ परेकी झापाको बिर्तामोड नगरपालिका–४ निवासी २२ वर्षीया महिलालाई जोगाउन प्रहरीले प्रपञ्च रचिरहेको स्रोतको दाबी छ।

महिला पक्राउ परेको दुई दिन बितिसक्दा पनि प्रहरीले हालसम्म कुनै कानुनी प्रक्रिया अगाडि नबढाई घटनामा संलग्न महिलालाई जोगाउन खोजेको स्रोतको भनाइ छ।

पक्राउ परेको २४ घण्टाभित्र पक्राउ परेका व्यक्तिलाई अदालत वा सम्बन्धित निकायमा उपस्थित गराई घटनाको अनुसन्धान अगाडि बढाउने कानुनी प्रावधान भए पनि नाबालिकालाई भारततर्फ लैजाने मानव बेचबिखनजस्तो गम्भीर अभियोगमा पक्राउ परेकी महिलामाथि शुक्रबार साँझसम्म कुनै पनि कानुनी प्रक्रिया अगाडि नबढाउनुले पर्सा प्रहरीको नियतमाथि शंका उत्पन्न गरेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार गत असोज ७ गते झापाबाट वीरगन्ज आएको रात्री बसबाट १२ वर्षीय नाबालिकालाई लिएर रक्सौलतर्फ जाँदै गरेकी महिलामाथि शंकालागि मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गर्ने साना नेपाल नामक संस्थाका कर्मचारीहरूले सोधपुछ गरेका थिए। सोधपुछका क्रममा अभिभावकको जानकारीबिना नाबालिका वीरगन्ज आएको र आफूसँगै रहेकी महिलासँग भारततर्फ जान लागेको जानकारी पाएपछि दुवै जनालाई सोधपुछका लागि तत्काल रोकी प्रहरीलाई जानकारी गराइएको थियो।

घरमा कसैलाई नभनी सामान्य चिनजानकी महिलासँगै भारत गइरहेको नाबालिकाबाट जानकारी पाएपछि साना नेपालका सदस्यहरूले दुवै जनालाई बसपार्कस्थित संस्थाको कार्यालयमा लगेर सोधपुछ गरेका थिए। घटना रहस्यमय देखिएपछि र महिला संदिग्ध देखिएपछि त्यसको सम्पूर्ण जानकारी सोही दिन पर्सा प्रहरीलाई गराइएको स्रोतले बतायो।

प्रहरी कार्यालयमा बालिका र संदिग्ध महिलालाई बुझाएपछि नाबालिकालाई घुमाउन मात्र महिलाले भारततर्फ लगेको भन्दै त्यसमा के कारबाही गर्ने जस्तो गैरजिम्मेवार जवाफ प्रहरीले दिएको कारण दोषीलाई उम्काउने खेल त भएको होइन भन्ने आफूहरूको शंका रहेको स्रोतको भनाइ छ।

यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसँग बुझ्दा उनले नाबालिकाकी आमाले नै मुद्दामा जान नमानेका कारण प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी दिए।

प्रहरी कार्यालयमा नाबालिकाले आफू आफ्नै इच्छाले अभिभावकलाई नबताई भारततर्फ घुम्न हिँडेको बयान दिएको र उनकी आमाले समेत आफू वीरगन्जमा नभई झापामै महिलाविरुद्ध कानुनी कारबाही गर्ने बताउँदै बिहीबार घर जान तीन जनाका लागि बस भाडासमेत जिल्ला प्रहरी कार्यालयबाट बुझेर गएको उनले बताए।

हिजो भाडा लिएर कार्यालयबाट गएकी नाबालिकाकी आमा झापा नगई राति साना नेपालकै कार्यालयमा बसेको र आज बिहान फेरि उनलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा बोलाई मुद्दा प्रक्रियामा जान आग्रह गरिएको डीएसपी मल्लले दाबी गरे।

पक्राउ परेकी महिलालाई महिला सेलमा राखिएको छ भने नाबालिका र उनकी आमालाई मुद्दा प्रक्रियामा जान अहिलेसम्म सम्झाउने–बुझाउने कार्य भइरहेको उनले बताए। महिला सेलमा रहेको उक्त केसमा नाबालिका र उनकी आमाले भनेअनुसार गर्नु भनी महिला सेलमा कार्यरत अधिकारीलाई आफूले निर्देशन दिएको डीएसपी मल्लले जानकारी दिए।

वीरगन्जको बसपार्कबाट नाबालिका र महिलालाई सोधपुछका लागि साना नेपालका कर्मचारीले कार्यालय लगेपछि नाबालिकाकी आमा भन्दै नक्कली महिलासँग कुरा गराउँदै महिलाले कर्मचारीलाई धोका दिने प्रयास गरेकी थिइन्।

झापाबाट रात्री बसमा वीरगन्ज आएकी महिलाले वीरगन्ज नपुग्दै रक्सौलबाट बिहारको साहेबगञ्जसम्म जान पहिल्यै स्कार्पियो गाडी भाडामा लिएको सोधपुछका क्रममा खुलेको स्रोतले जनाएको छ।

महिलाले सोधपुछका क्रममा पटक–पटक झुट बोल्ने र बोलेको झुट खुलेपछि नयाँ झुट बोल्ने गरेको स्रोतको भनाइ छ।

नाबालिकालाई ललाईफकाई वा अन्य कुनै पनि प्रलोभनमा भारत वा विदेशतर्फ लैजान लागिएको पुष्टि भएपछि त्यस्ता व्यक्तिमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा २ बमोजिम १५ देखि २० वर्षसम्म कैद र १ लाखदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस