साभार अनलनईन खबर /काठमाडौँ —
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ परेका छन्। उनको पक्राउको कारणबारे विस्तृत विवरण आधिकारिक रूपमा खुलाइएको छैन भने प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रममा सहभागी भएर फर्केको केही घण्टामै उनी पक्राउ परेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘शासकीय मामिला एवं न्यायिक कामकारबाहीमा चलखेल गरेको’ आरोपमा उनका बारेमा निरन्तर गुनासो र उजुरी परिरहेको थियो। सूत्रहरूका अनुसार जबराले आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाएर भावी पदका लागि महत्त्वाकांक्षा देखाउनुका साथै अदालतमा विचाराधीन मुद्दाहरूमा ‘रुचि र चासो’ देखाएर चलखेल बढाएका थिए। बाँसबारीस्थित उनको निवासमा आवतजावत बढेपछि सूचना संयन्त्रले समेत निगरानी बढाएको थियो।
वीरगन्जका मेयर राजेशमान सिंहको सफाइको प्रसंग
विशेष गरी डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि जबराले सक्रियता अत्यधिक बढाएको र निवासबाटै राजनीतिक एवं न्यायिक चलखेल गरेको आरोप छ। स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणको फैसला र वीरगन्जका मेयर राजेशमानसिंहको सफाइ लगायतका मुद्दाको सुनुवाइअघि सरोकारवालाहरूले जबरालाई भेटेका थिए।
राजनीतिक महत्त्वाकांक्षा राख्नुका साथै अदालती कामकारवाहीमा समेत अनपेक्षित र अस्वाभाविक चासो बढाएपछि उनी एकाएक पक्राउ परेको देखिन्छ। यस विषयमा थप विवरण आउन बाँकी छ।












