२०८३ आश्विन ११ गते, आईतवार १४:३४

मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध

सर्लाही –

लगातारको वर्षाका कारण सदरमुकाम मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ।

सबस्टेसन डुबानमा परेसँगै आज बिहान करिब ४ बजेदेखि मलङ्गवासहित जिल्लाका १० वटा स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको हो।

सबस्टेसन अझै डुबानमै रहेकाले पानीको निकास भएपछि मात्र विद्युत् प्रसारण पुनः सञ्चालन गर्न सकिने नेपाल विद्युत् प्राधिकरण, मलङ्गवा वितरण शाखाका प्राविधिक इन्जिनियर सौरभ साहले जानकारी दिए।

उनका अनुसार सबस्टेसनको कन्ट्रोल रुममा समेत पानी पसेका कारण विद्युत् वितरणमा कठिनाइ भएको छ। अहिले मोटर पम्पको प्रयोग गरी सबस्टेसनमा जमेको पानी निकास गर्ने काम भइरहेको उनले बताए।

यसैबीच, रातिदेखि परेको अविरल वर्षाका कारण बागमती र लखनदेही खोलामा आएको बाढीले सर्लाहीको सदरमुकाम मलङ्गवा डुबानमा परेको छ।

खोलाको पानी बस्तीमा पस्दा स्थानीयको जनजीवन प्रभावित भएको छ। घरभित्र पानी पसेपछि खाना पकाउनदेखि बस्नसमेत समस्या भएको स्थानीयले बताएका छन्।

बाढीको पानी बजार क्षेत्रमा समेत पसेपछि पसलमा राखिएका सामानमा क्षति पुगेको स्थानीय व्यवसायीले गुनासो गरेका छन्। मलङ्गवा बजारका विभिन्न क्षेत्रमा करिब एक फिटदेखि दुई फिटसम्म पानी जमेको स्थानीयले बताएका छन्।

डुबानका कारण बजार तथा बस्ती क्षेत्रमा आवतजावतमा समेत समस्या भएको छ। सडकमा पानी जमेकाले पैदल तथा सवारीसाधनमार्फत आवतजावत गर्न कठिनाइ भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस