२०८३ आश्विन ११ गते, आईतवार १४:३४

कुटपिट गर्दै जुत्ताको माला लगाएर गाउँ घुमाउने तीन जना पक्राउ

राजविराज —

बाख्रा चोरीको आरोप लगाएर एक व्यक्तिमाथि कुटपिट गर्नुका साथै जुत्ताको माला र भाँडाकुँडा झुन्ड्याएर अमानवीय व्यवहारसहित गाउँ घुमाएको घटनामा संलग्न तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

स्थानीय राम कुमार चमारमाथि बाख्रा चोरीको आरोप लगाउँदै स्थानीयहरूले कुटपिट गर्नुका साथै जुत्ताको माला, चप्पल र खाना बनाउने भाँडाकुँडासमेत घाँटीमा झुन्ड्याएर सार्वजनिक रूपमा बेइज्जती गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा राजविराज नगरपालिका–१३ का ४२ वर्षीय ललित राम, ३५ वर्षीय लड्डु राम र रामनाथ रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गत साउन ८ गते स्थानीय रामनाथ रामको बाख्रा हराएपछि विवाद सुरु भएको थियो। सोही विवाद मिलाउन साउन ९ गते स्थानीय भगवती मन्दिरको प्राङ्गणमा पञ्चायत बोलाइएको थियो। छलफलका क्रममा सहमति जुट्न नसकेपछि उग्र बनेको भिडले पीडितमाथि कुटपिट गर्दै अमानवीय व्यवहार गरेको खुलेको छ।

कानुन हातमा लिई व्यक्तिमाथि दुर्व्यवहार तथा अपमानजनक हर्कत गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस