२०८३ आश्विन १२ गते, सोमबार १०:०७

वीरगन्ज नाकाबाट खाना पकाउने ग्याँसको १४ र डिजलको आयात १३ प्रतिशतले बढ्यो

वीरगन्ज-

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने खाना पकाउने एलपीजी ग्याँस र डिजलको आयातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाका हुँदै नेपालका लागि १४ प्रतिशत ग्याँस र १३ प्रतिशत डिजल बढी आयात भएको हो।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म वीरगन्ज नाका हुँदै ५ अर्ब १३ करोड रुपैयाँ मूल्यको ४८ हजार ५६६ मेट्रिक टन खाना पकाउने ग्याँस र ११ अर्ब ९१ करोड रुपैयाँ मूल्यको १ लाख ३२ हजार ८२४ किलो लिटर (केएल) डिजल आयात भएको थियो।

चालु आर्थिक वर्षको सोही अवधिमा भने ७ अर्ब ७३ करोड रुपैयाँ मूल्यको ५६ हजार ६०१ मेट्रिक टन ग्याँस र २२ अर्ब १४ करोड रुपैयाँ मूल्यको १ लाख ४९ हजार ९६८ केएल डिजल आयात भएको भन्सार कार्यालयले जनाएको छ।

समीक्षा अवधिको तुलनामा ग्याँसको आयात परिमाण ७ हजार ३४ मेट्रिक टन अर्थात् १४ प्रतिशतले बढेको छ। मूल्यका आधारमा भने ग्याँसको आयात ५१ प्रतिशतले बढेको छ। त्यसैगरी डिजलको आयात परिमाण १७ हजार १४४ केएल अर्थात् करिब १३ प्रतिशतले बढेको छ भने मूल्यका आधारमा ८६ प्रतिशतले वृद्धि भएको छ।

नेपालका लागि ७० प्रतिशतभन्दा बढी इन्धन आपूर्ति गर्ने वीरगन्ज नाकाबाट डिजल र खाना पकाउने ग्याँसको आयात बढे पनि पेट्रोल र मट्टीतेलको आयातमा भने गिरावट आएको छ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलको आयात करिब ५ प्रतिशत र मट्टीतेलको आयात ६९ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगन्ज नाका हुँदै नेपालका लागि ६ अर्ब ८२ करोड रुपैयाँ मूल्यको ८० हजार ५६० केएल पेट्रोल र ४ करोड रुपैयाँ मूल्यको ४५० केएल मट्टीतेल आयात भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७० करोड रुपैयाँ मूल्यको ७७ हजार १४१ केएल पेट्रोल र १ करोड रुपैयाँ मूल्यको १४१ केएल मट्टीतेल आयात भएको छ।

वीरगन्ज नाकालाई प्रयोग गरी नेपालका लागि हुने हवाई इन्धन (एटीएफ) को आयात पनि समीक्षा अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ४३ करोड रुपैयाँ मूल्यको १७ हजार १७१ केएल एटीएफ आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३७ करोड रुपैयाँ मूल्यको २७ हजार ४६० केएल एटीएफ आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस