वीरगन्ज–
नेपाल देवभूमि र सनातन धर्मको उद्गम स्थल भएकाले छठ पर्वको अवसरमा दुई दिन राष्ट्रिय बिदा घोषणा गर्न सनातन हिन्दू मोर्चाले माग गरेको छ। मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्दले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्।
यस वर्ष (२०८३) को छठ पर्व कात्तिक २९ र ३० गते परेको र २९ गते आइतबार स्वतः बिदा पर्ने भएकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिएमा व्रतालु तथा भक्तजनहरूलाई ठूलो राहत पुग्ने अध्यक्ष सन्तोषानन्दले बताए। चार दिनसम्म मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व उच्च रहेको उनको भनाइ छ।
यसैगरी, छठ पर्वको अवसरमा वीरगन्ज, जनकपुरधाम, काठमाडौं, चितवन, विराटनगर, गोरखा, कपिलवस्तु र लुम्बिनी लगायतका प्रमुख धार्मिक तथा सार्वजनिक स्थलहरूमा नेपाल सरकारले हेलिकप्टरमार्फत पुष्पवर्षा (फूलको वर्षा) गराउनुपर्ने अनुरोधसमेत मोर्चाले गरेको छ।
पर्वका वेला तराई-मधेस क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधि वा बदमासीलाई नियन्त्रण गर्न गृह प्रशासनलाई विशेष सजग र चनाखो रहन पनि उनले आग्रह गरेका छन्।
अध्यक्ष सन्तोषानन्दले छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै देशमा सुख, शान्ति र समृद्धिका लागि छठी मैयाँसँग प्रार्थना गरेका छन्।











