एजेन्सी–
भारतको जम्मू-कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार दिउँसो अज्ञात बन्दुकधारीले केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानहरूमाथि गोली प्रहार गरेका छन्।
अखरान क्याम्पनजिक नाकामा ड्युटीमा खटिएका जवानहरूलाई लक्षित गरी दिउँसो करिब २:१५ बजे आक्रमण भएको हो। आक्रमणमा परि सीआरपीएफको ४६औँ बटालियनमा कार्यरत हेड कन्स्टेबल सोमवीर तथा कन्स्टेबलद्वय सन्तानो र राकेश दास घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये एक जवानको खुट्टा, अर्काको हात र तेस्रोको ढाडमा गोली लागेको छ। उनीहरू तीनै जनाको अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।
गोली चलाएलगत्तै आक्रमणकारीहरू मोटरसाइकलमा फरार भएका थिए। घटनापछि सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान तीव्र पारेका छन् भने सुरक्षा व्यवस्था कडा बनाइएको छ।
दक्षिण कश्मीरको संवेदनशील मानिने कुलगाम, अनन्तनाग र शोपियाँ आसपासका क्षेत्रमा यसअघि पनि सुरक्षाकर्मीलाई लक्षित गरी आतङ्कवादी गतिविधि हुँदै आएका छन्। सञ्चारमाध्यमका अनुसार जम्मू-कश्मीरमा सन् २०२४ देखि हालसम्म ५४८ आतङ्कवादी घटना भइसकेका छन्, जसमा ४५ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने १३८ जना आतङ्कवादी मारिएका छन्।











