काठमाडौं –
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाग्रस्त माइक्रोबसमा १५ जना सवार थिए। तीमध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट डीएसपीको कमान्डमा टोली परिचालन गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीसमेत घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटेको छ।
सडकबाट करिब ७०० मिटर तल खसेको माइक्रोबस दुर्घटनाको कारण खुलेको छैन। मृतक तथा घाइतेहरूको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












