वीरगन्ज-
ईस्कोन वीरगन्जको आयोजनामा शनिवार दोस्रो पटक श्री जगन्नाथ रथयात्रा उत्साहपूर्वक निकालिएको छ । यो रथयात्रा वीरगन्ज महानगरको घण्टाघरबाट सुरु भई मुख्य सडकबाट माईस्थान, आदर्शनगर, महाविरस्थान, अलखिया मठबाट कैलाश होटल मार्ग हुँदै आदर्शनगरको पूरानो बसपार्कमा पुगेर समापन भएको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस अवसरमा वीरगन्जमा ईस्कोनको लागि ठूलो मन्दिर निर्माण गर्न आवश्यकता रहेको बताए । उनले आगामी वर्ष पनि रथयात्रालाई निरन्तरता दिई अझै उल्लासपूर्ण ढंगले मनाउनुपर्ने जोड दिए । साथै, महानगरपालिकाले यस्ता आयोजनामा सबैसँग समन्वय गर्न सधैं तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा वक्ताहरूले रथयात्राले मानिसमा अध्यात्मिक ज्ञान र शान्ति प्रदान गर्ने बताए । उनीहरूको भनाई अनुसार, रथयात्राले मनमा आउने नकारात्मक विचारहरूलाई दूर गरी सकारात्मक सोचको विकास गर्न मद्दत पुग्छ ।
यस अवसरमा वीरगन्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, समाजसेवी एवं नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदास लगायत धेरै गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले गरेका थिए ।
गत वर्ष पहिलो पटक वीरगन्जमा जगन्नाथ रथयात्रा निकालिएको थियो भने यसपाली यो आयोजना अझै ठूलो र उत्साहपूर्ण रह्यो । यसले सामाजिक सद्भाव र अध्यात्मिक चेतनाको प्रसार गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।