काठमाडौं—
नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताउनुभएको छ ।
अर्थ समितिको आईतवारको बैठकमा उहाँले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र काँग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताउनुभएको हो । समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गर्नुभएको थियो । सोही प्रश्नको जवाफ दिँदै उहाँले एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसिसी परियोजना अघि बढाएको बताउनु भयो । सरकारको नेतृत्व गर्नेहरु सबैले एमसिसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसिसी अनुमोदन भएको बताउनु भयो । यसबारेमा छुट्टै समीक्षा गर्न सकिने उहाँको भनाइ छ । अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरुको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्सारसम्बन्धी कानूनमा भइरहेको छलफललाई नै निरन्तरता दिने हो भने कार्यकालभर छलफलमा मात्रै सिमित हुने स्थिति बनेको बताउनु भयो ।