२०८२ असार १७ गते, मंगलवार १६:५२

वीरगन्ज  –

पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै भाइमाथि बन्दुक ताकेर चलाउन खोज्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार बुधबार वीरेन्द्र र उनका ५५ वर्षीय भाइ सिकेन्द्र यादवबीच जग्गाको विषयमा विवाद चर्किएको थियो। सोही क्रममा दाजु वीरेन्द्रले आफूसँग भएको कटुवा पेस्तोल निकालेर भाइमाथि प्रहार गर्न खोजेका थिए। घटनास्थलमा तत्काल पुगेको प्रहरी टोलीले वीरेन्द्रलाई नियन्त्रणमा लिएको लम्सालले बताए।

पेस्तोलसहित पक्राउ परेका ६० वर्षीय वीरेन्द्र यादव

पक्राउ परेका वीरेन्द्रको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, चार राउण्ड गोली र ना २३ प ४८७७ नम्बरको मोटरसाइकल बरामद गरेको छ। प्रहरी चौकी महुवनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पर्सा प्रहरी नायव उपरीक्षक लम्सालले वीरेन्द्रलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र हातहतियार तथा खरखजाना कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनले यस्ता घटनाले पारिवारिक र सामाजिक सम्बन्धमा गम्भीर असर पार्ने भन्दै कानूनी कारबाही कडाइका साथ अघि बढाइने बताए।

यो घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस