२०८२ असार १६ गते, सोमबार २०:५२

जनकपुरधाम–

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार प्रदेश सभामा प्रस्तुत गरेको उक्त कार्यक्रमले ‘आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी’ को मूल नारालाई केन्द्रमा राखेको छ।

कृषिमा जोड
‘मधेशले देशलाई खुवाउने अभियान’ र ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारासहित कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ। ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्न सहित आम्दानी’ अभियानमार्फत सिँचाइ सुविधा विस्तारमा प्राथमिकता दिइएको छ।

रोजगार र उद्यमशीलता
‘हर हाथ में सीप, हर घर में रोजगारी, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ अभियानअन्तर्गत एक लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। ‘आयात घटाऔं, निर्यात बढाऔं’ नारासहित स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिइनेछ।

शिक्षा र स्वास्थ्य
शिक्षामा ‘बचाके स्कूल पठाउ, साक्षरता के दीप जलाउ’ नाराका साथ गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गरिने छ। स्वास्थ्य क्षेत्रमा ‘पूर्ण सुरक्षित मातृव प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश’ नारासहित मातृशिशु स्वास्थ्य र जनस्वास्थ्य सुधारलाई प्राथमिकता दिइएको छ।

वातावरण संरक्षण
‘चुरे जोगाउ, मधेश बचाउ’ र ‘हरित शहर, स्वच्छ शहर’ अभियानमार्फत वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा जोड दिइएको छ। ‘हरित मधेश अभियान’अन्तर्गत वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिइनेछ।

पर्यटन प्रवर्द्धन
‘घुमैँ मधेश, बुझौं मधेश’ नारासहित ‘मधेश भ्रमण वर्ष २०८३’ सञ्चालन गरी पर्यटन विकासमा जोड दिइनेछ। जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवाह केन्द्रका रूपमा विकास गर्ने परिकल्पना अघि सारिएको छ।

सुशासन र पारदर्शिता
‘हेलो मुख्यमन्त्री’ अभियानमार्फत गुनासो सुनुवाइ गरिनेछ भने ‘मेरो पैसा कहाँ जाँदैछ’ अभियानले बजेट विनियोजन र खर्चमा पारदर्शिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

पूर्वाधार विकास
‘एक निर्वाचन क्षेत्र, एक सडक’ र ‘एक निर्वाचन क्षेत्र, एक पक्की पुल’ कार्यक्रमलाई निरन्तरता दिँदै सडक सञ्जाल विस्तार र भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ।

प्रदेश सरकारले यी नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमार्फत दोस्रो आवधिक योजनाको सोच ‘आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी’ साकार पार्न सबै पक्षको सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस