वीरगन्ज –
संविधान दिवसको अवसरमा शुक्रबार ७ दलीय मधेसी मोर्चाले वीरगन्जमा विरोध कार्यक्रम आयोजना गरेको छ। संविधानले मधेसलाई दिएको अधिकार अपुरो र विभेदपूर्ण रहेको भन्दै मोर्चाका नेताकार्यकर्ताले घण्टाघरस्थित शहीद स्मारक पुगेर मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका छन्।
कार्यक्रममा सहभागी नेताहरूले संविधान दिवसलाई उत्सवको रूपमा नभई अधिकार र पहिचानका सवालमा अझै अधुरो यात्रा सम्झाउने दिनका रूपमा मनाउनुपरेको बताएका छन्। उनीहरूले संविधान निर्माण प्रक्रियामा मधेसको वास्तविक प्रतिनिधित्व र मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै मधेसी, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे।
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले “मधेस आन्दोलनको बलिदानलाई बिर्सन नहुने” भन्दै संविधानले अझै न्याय नदिएको स्पष्ट पारे। त्यस्तै, जनमत पार्टीकी नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा जसपा, जनमतसहित सात दलीय मधेसी मोर्चाका नेताकार्यकर्ता उपस्थित थिए। उनीहरूले हातमा कालो पटी बाँधेर संविधानप्रति असन्तुष्टि जनाएका थिए।
स्थानीय बासिन्दाले पनि विरोध कार्यक्रम नजिकैबाट अवलोकन गरेका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।