२०८२ आश्विन ३ गते, शुक्रबार १७:५१

संविधान र संघीयताको रक्षा कै लागि राजीनामा नदिएको हुँ : मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर –

संविधान दिवसको अवसरमा शुक्रबार मधेस प्रदेश सरकारले संविधान र संघीयताको रक्षा अहिलेको प्रमुख जिम्मेवारी भएको स्पष्ट पारेको छ। जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलगायतका नेताहरूले संविधानको कार्यान्वयन र संरक्षण सबैको साझा दायित्व भएको धारणा राखे।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शहीदहरूको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै उत्तरदायी बन्नुपर्नेमा जोड दिइन्। उनले जेन–जी आन्दोलनको नाममा मुलुकको संरचना ध्वस्त पार्ने र लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन्। साथै उनले जनजीविकासँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मौलिक हकलाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता र संविधानको रक्षाकै लागि आफूले राजीनामा नदिएको स्पष्ट पारे। उनले २३ भदौको आन्दोलनपछि राजीनामा दिने घोषणा गरे पनि अहिलेको परिस्थितिमा जिम्मेवारीबाट भाग्नु उचित नहुने बताए। सिंहले आन्दोलनका नाममा भएको तोडफोड, लुटपाट र संरचना ध्वस्त पार्ने कार्यमा संलग्नलाई कानुनी कारबाहीमा ल्याउन आवश्यक रहेको धारणा राखे।

त्यसैगरी, मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतामा रहेको असन्तुष्टि संविधानकै संरचनाभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले संविधान उल्ट्याउने वा संघीयता खारेज गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिँदै विद्यमान संविधानलाई संशोधनमार्फत परिमार्जन गरेर मात्रै समाधान सम्भव हुने बताए।

शुक्रबार मधेस प्रदेशसहित देशभर संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस