वीरगन्ज-
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्धको अभियान अन्तर्गत सोमबार जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा गाँजा खेती नष्ट गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न स्थानमा पुगेर गाँजाका बोटहरू फडानी गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिपराज पाठकका अनुसार सोमबार दिउँसो करिब साढे १२ बजे पटेर्वा सुगौलिका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको १५ जनाको विशेष टोलीले जिराभवानी गाउँपालिका वडा नं. ५, हरैयास्थित भलुवाही खोलाको बगरमा अवैध रूपमा उमारिएको करिब १ कठ्ठा गाँजाको बोट नष्ट गरेको छ। सोही टोलीले पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४, फरदवास्थित ऐलानी जग्गामा लगाइएको करिब २.५ कठ्ठा गाँजा समेत फडानी गरेको प्रमुख पाठकले बताए ।
दुवै स्थान गरी कुल ३.५ कठ्ठा जमिनमा लगाइएको करिब ७ हजार ५ सय वटा गाँजाका बोटहरू उखेलेर नष्ट गरिएको छ। पछिल्लो समय पर्सा प्रहरीले जिल्लाका दुर्गम तथा नदी किनाराका क्षेत्रहरूमा लुकिछिपी गरिने अवैध गाँजा खेतीलाई लक्षित गरी नियमित रूपमा फडानी अभियान चलाउँदै आएको छ। अवैध खेती गर्ने व्यक्तिहरूको खोजी भइरहेको र यस्ता क्रियाकलापमा संलग्नलाई कडा कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।














