वीरगन्ज-
मृतक सुनिता तामाङकी आमा कान्छिमाया स्याङबोलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेकी तथा परिवारको एक मात्र कमाउने छोरीको निधन भएपछि भरणपोषणमा समस्या देखिएपछि उनलाई उक्त सहयोग उपलब्ध गराइएको हो।
पर्साको पर्सागढी नगरपालिका–३ निवासी सुनिता तामाङको गत मंसिर २७ गते वीरगन्जस्थित मारवाडी धर्मशालामा मृत्यु भएपछि उनकी आश्रित आमाको भरणपोषणमा समस्या उत्पन्न भएको थियो। त्यसपछि जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समितिको तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले मृतककी आमा कान्छिमाया स्याङबोलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित मारवाडी धर्मशालाको तेस्रो तलाको कोठा नं. १०४ मा बस्दै आएकी सुनिताको मृत्यु शंकास्पद रहेको परिवारजनको आरोप छ। सुनिताको मृत्यु भवितव्य नभई कर्तव्य भएको दाबी गर्दै परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।














