२०८२ पुष १९ गते, शनिबार ११:४२

चुनावी दौडमा जसपा: पर्साका ४ निर्वाचन क्षेत्रमा को–को परे सिफारिसमा ? (सूचीसहित)

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाउँदै केन्द्रमा सिफारिस गरेको छ। जसपा पर्सा जिल्ला कार्यसमितिको बैठकले जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारहरूको नामावली सिफारिस गरेको हो।

यस्तो छ जसपाको निर्वाचन क्षेत्रगत सिफारिस:

क्षेत्र नं १: पूर्व मुख्यमन्त्री राउतसहित तीन जनाको नाम सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाले मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको नाम सिफारिस गरेको छ। उहाँसँगै पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवको नाम पनि सिफारिसमा परेको छ।

क्षेत्र नं २: व्यवसायी टेमानीदेखि अधिवक्ता कुर्मीसम्म निर्वाचन क्षेत्र नम्बर २ बाट जसपाले ६ जनाको नाम अगाडि सारेको छ। जसमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष एवं स्थापित व्यवसायी अशोक टेमानी, वरिष्ठ अधिवक्ता एवं अघिल्लो निर्वाचनका प्रत्यासी सुरेन्द्र कुर्मी, सन्तोष तिवारी, कामेश पण्डित, आशुतोष चतुर्वेदी र वीरेन्द्र प्रसाद यादव रहेका छन्।

क्षेत्र नं ३: नागेन्द्र र भरतको दाबेदारी निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीले नागेन्द्र प्रसाद यादव र भरत गिरीको नाम सिफारिस गरेको छ। यी दुईमध्ये एकजनाले टिकट पाउने सम्भावना रहेको छ।

क्षेत्र नं ४: डा. कृपा सिन्धुको एकल सिफारिस निर्वाचन क्षेत्र नम्बर ४ मा भने जसपाले सर्वसम्मत रूपमा एक जनाको मात्र नाम सिफारिस गरेको छ। योजना आयोगका पूर्व सदस्य तथा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. कृपा सिन्धु चौधरीको एकल नाम सिफारिस भएको हो।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा जसपाले आफ्ना बलिया उम्मेदवारहरूलाई मैदानमा उतार्ने तयारी स्वरूप यो नामावली सिफारिस गरेको जनाएको छ। सिफारिस गरिएका नामहरू मध्येबाट पार्टीको केन्द्रीय कार्यसमितिले अन्तिम उम्मेदवारको टुङ्गो लगाउनेछ।

पोडकास्ट सुन्नुहोस