२०८२ फाल्गुन १४ गते, बिहीबार ०७:२०

रेनी गुडको मृत्युपछि ५० वटै राज्यका सडकमा उत्रिए हजारौँ, ट्रम्प प्रशासन दबाबमा

काठमाण्डौं –
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (ICE) को कारबाहीका क्रममा मिनियापोलिसमा रेनी निकोल गुडको गोली लागेर मृत्यु भएपछि अमेरिका आक्रोशमा उत्रिएको छ। घटनाको विरोधमा देशभर एक हजारभन्दा बढी स्थानमा प्रदर्शन भएका छन् भने ५० वटै राज्यमा आन्दोलन फैलिने संकेत देखिएको छ।

शनिबार बोस्टन, सान फ्रान्सिस्को र ओरेगनको पोर्टल्यान्डमा हजारौँ प्रदर्शनकारीले सडक तताएका थिए। हिउँले सेताम्मे बनेको मिनियापोलिसमा पनि विशाल भीड उत्रिँदा “ICE हटाऊ, ICE बाहिर जाओ” र “रेनी गुड” का नारा गुन्जिएका थिए। आयोजकहरूका अनुसार विरोध कार्यक्रम आइतबारसम्म पनि निरन्तर चल्नेछ।

ICE केन्द्रमै रोकिए सांसद

घटनापछि अमेरिकी प्रतिनिधिसभाकी सदस्यहरू इल्हान ओमर, केली मोरिसन र एन्जी क्रेग शनिबार मिनियापोलिसस्थित ICE केन्द्र पुगेर निरीक्षण गर्न खोज्दा प्रवेश गर्न नदिइएको छ। पछि उनीहरूले ICE ले आफूहरूलाई गैरकानुनी रूपमा रोकिएको आरोप लगाउँदै कडा आलोचना गरेका छन्।

ट्रम्प प्रशासनको प्रतिवाद

ट्रम्प प्रशासनले भने रेनी गुडलाई ‘गोप्य वामपन्थी सञ्जाल’सँग जोड्दै संघीय सुरक्षाकर्मीविरुद्ध हिंसा भड्काउने प्रयासमा संलग्न रहेको दाबी गरेको छ। प्रशासनका अनुसार उनी सम्भवतः “पैसा लिएर आन्दोलन गर्ने उक्साहक” थिइन्। तर यो दाबीलाई मानवअधिकार समूह र विपक्षी दलहरूले अस्वीकार गरेका छन्।

‘आफ्नै नागरिक मार्न तयार शासन’

फिलाडेल्फियामा वर्षातका बीच दुई फरक–फरक समूहले अलग–अलग प्रदर्शन गरे। सिटी हलबाट संघीय थुनुवा केन्द्रसम्म पुगेका दुवै जुलुसको मुख्य माग एउटै थियो—अमेरिकी समुदायबाट ICE हटाउनुपर्ने र राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलामाथिको आक्रामक नीतिको अन्त्य।

फिलाडेल्फियास्थित डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका की सह–अध्यक्ष डेबराह रोज हिन्चीले भनिन्,

“भेनेजुएलादेखि मिनियापोलिससम्म हामी एउटै कुरा देखिरहेका छौँ—शक्ति जोगाउन आफ्नै नागरिक मात्र होइन, विदेशी नागरिक मार्न पनि तयार शासन।”

रेनी गुडको मृत्यु केवल एउटा घटना मात्र नभई अमेरिकामा आप्रवासन नीति, मानवअधिकार र राज्य शक्तिमाथिको बहसलाई फेरि चर्काउने कारक बनेको छ। आन्दोलन अझ फैलिँदै जाँदा ट्रम्प प्रशासन थप दबाबमा पर्ने संकेत देखिएको छ।स्रोतः द गार्डियन

पोडकास्ट सुन्नुहोस