वीरगन्ज-
मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रभावलाई आक्रामक रूपमा विस्तार गरेको छ। शनिबार वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बीच नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल र राप्रपा जस्ता पुराना दल परित्याग गरी सयौँ प्रभावशाली नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्।
वडाध्यक्षदेखि युवा पुस्तासम्मको लर्को
पर्सा क्षेत्र नं. ४ का विभिन्न गाउँबाट रास्वपा प्रवेश गर्नेहरूको लर्को लागेको छ। जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया को नेतृत्वमा पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ र पूर्व वडाध्यक्ष महादेव चौरसिया रास्वपामा प्रवेश गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका नेताहरू प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी र राजेन्द्र प्रसाद चौरसिया तथा राप्रपाका ललन ठाकुर र सुशासन पार्टीका लक्ष्मण महतोले पनि ‘घण्टी’ रोजेका छन्। नेकपा एमालेका मनमोहन प्रसाद चौरसिया, राजेश साह र अकलेश कुशावाहा सहित ठुलो संख्यामा युवाहरू (जेन-जी) ले सामूहिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
“पर्सा क्षेत्र नं. ४ मा रास्वपाको किल्ला बन्दै”
नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपाका जिल्ला सभापति हरि पन्तले यो प्रवेशले पर्सामा रास्वपालाई पहिलो शक्तिको रूपमा स्थापित गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “पुराना दलहरूको अकर्मण्यताबाट वाक्क भएका जनताले अब रास्वपालाई आशाको केन्द्र मानेका छन्। यो प्रवेशले आगामी फागुनको निर्वाचनमा हाम्रो विजय निश्चित गरेको छ।”
चुनावी सरगर्मी: टेकबहादुर शाक्यलाई उम्मेदवार घोषणा
क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि टेकबहादुर शाक्य रास्वपाको उम्मेदवार रहेको घोषणा गर्दै भारी बहुमतका साथ जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला उपसभापति तुल्सा पौडेल लगायतका नेताहरूले नवप्रवेशीहरूलाई अबिर र टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गर्नुभएको थियो।















