काठमाडौं –
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे ।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।
उनले भने,‘अब परिवर्तन र नयाँ सोचको आवश्यक छ । पदमाथि पद बाँडेर ,ठूला घर बनाउने अवसर दिएर, गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दैनरहेछ । यो हाम्रो ३४ वर्षको उदाहरण हो । व्यक्ति विचारले चल्छ अवसरले चल्दैन् । सही मानिसमा अवसर गए मुलुक बन्छ । असल मान्छे छैन् भने जति अवसर दिएपनि मुलुक बन्दैन ।’
त्यस्तै उनले आफ्नो वरिपरी आफ्नो कार्यकर्तालाई शासन सत्ता दिएर मुलुक बन्दैन रहेछ भन्ने महशुस आज सबैलाई भएको धारणा राखे ।
नेता भण्डारीले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताउँदै देश अप्ठ्यारो अवस्थामा रहेको बेला आगामी निर्वाचनबाट एक ढिक्का भएर जानुपर्ने बताए।














