२०८२ माघ १२ गते, सोमबार २१:२५

निर्वाचित जनप्रतिनिधिको अकर्मण्यताका कारण ग्रामीण क्षेत्र विकासबाट वञ्चितः रुङ्गटा

वीरगन्ज-

हालसम्म नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित नहुँदा ग्रामीण भेगका जनताले विकासको अनुभूति गर्न नसकेको नेपाली काँग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवामा आइतबार आयोजित रात्रीकालीन भेटघाट तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले निर्वाचित जनप्रतिनिधिको अकर्मण्यता र प्राथमिकताविहीन लगानीका कारण ग्रामीण क्षेत्र विकासबाट पछि परेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसको बूथ कमिटीद्वारा आयोजित उक्त छलफल कार्यक्रममा उहाँले केही तत्वहरूले फैलाएको भ्रमका कारण बेलवामा अपेक्षित पूर्वाधार विकास हुन नसकेको स्पष्ट पार्नुभयो । यसपटकको निर्वाचनमा आफू निर्वाचित भए जनताको दैनिकी सहज बनाउने खालका विकास योजनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले हालका जनप्रतिनिधिहरूले गेटजस्ता अनुत्पादक संरचनामा लगानी गरेको तर जनताका लागि अत्यावश्यक सडक, नाला जस्ता आधारभूत पूर्वाधारमा पर्याप्त ध्यान नदिएको आरोप लगाउनुभयो ।

नेता रुङ्गटाले नव–युवाहरूको आन्दोलनबाट देशमा ठूलो परिवर्तन आएको र त्यस परिवर्तनलाई व्यवहारमा उतार्ने काम नेपाली काँग्रेसले गरेको भन्दै काँग्रेसका उम्मेदवारलाई मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले पर्सा क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका अजय द्विवेदी निर्वाचित रहँदा सडक, नाला, पुल, विद्यालय, मन्दिर लगायतका पूर्वाधारको उल्लेखनीय विकास भएको स्मरण गराउनुभयो । त्यसपछिका जनप्रतिनिधिहरू कामभन्दा प्रचारमा बढी केन्द्रित हुँदा बेलवावासी विकासबाट वञ्चित हुनुपरेको उहाँको भनाइ थियो ।

नेपाली काँग्रेस बेलवा बूथ कमिटीका सभापति अनिरुद्ध दहितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी कमिटीका पदाधिकारी, समाजसेवी तथा स्थानीय अगुवाहरूले भौतिक पूर्वाधार, सडक निर्माण, प्रहरी चौकीको अभाव, सार्वजनिक जग्गा–जमिन संरक्षण तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याबारे गुनासो राखेका थिए ।

कार्यक्रममा सहभागी युवाहरूले हाल निर्माण भइरहेका पूर्वाधार गुणस्तरहीन भएको तथा दिगोपन नदेखिएको गुनासो गरेका थिए । ग्रामीण भेगमा कमसल सामग्री प्रयोग गरिएकाले निर्माण भएको केही महिनामै सडक र नालाहरू भत्किने गरेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, जिल्ला उपसभापति रामनारायण कुर्मी, क्षेत्र नं.१ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, पूर्व सभापति विजय सर्राफ, उपसभापति अनिल सिंह, पूर्व महाधिवेशन प्रतिनिधि जोखनदास थारु, पूर्व वडा अध्यक्ष चुमन चौधरी, नगर सचिव हरिशचन्द्र यादव लगायत स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

पोडकास्ट सुन्नुहोस