२०८२ माघ १२ गते, सोमबार १६:०७

पर्सा–२ मा एमालेको चुनावी सरगर्मी: रिमा यादवको पक्षमा जनसमर्थन जुटाउँदै कार्यकर्ता

वीरगन्ज-

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाउनुभएको छ। निर्वाचनलाई लक्षित गर्दै उहाँले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० का पार्टीका अगुवा कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको हो।

आफ्नो पक्षमा जनसमर्थन सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरूले चुनावी रणनीति, मतदाता अभिमुखीकरण र टोलस्तरमा संगठन विस्तार गर्ने विषयमा विस्तृत छलफल गरेका थिए।

अन्तरक्रियामा बोल्दै उम्मेदवार यादवले महिला सशक्तीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो चुनावी एजेन्डाको मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिलाहरूको अधिकार, क्षमता विकास र नेतृत्वमा उनीहरूको पहुँच बढाउन म विशेष कार्यक्रम ल्याउनेछु। यस क्षेत्रको समग्र विकास र जनताको जीवनस्तर सुधार्न म सधैँ इमानदार भएर लाग्नेछु।”

यादवले थप स्पष्ट पार्दै युवाहरूलाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने र महिलाहरूलाई आत्मनिर्भर बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा एमाले मधेस प्रदेशका उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादवले पार्टीको संगठनलाई टोल–टोलसम्म मजबुत बनाएर निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।

त्यस्तै, वीरगन्ज महानगरका पूर्व मेयर प्रत्याशी अजय गुप्ता र युवा नेता अंगद गुप्ताले क्षेत्र नम्बर २ मा एमालेको पकड बलियो रहेको दाबी गर्दै यसपटक रिमा यादवलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले आगामी दिनमा घरदैलो अभियान, साना टोल भेला र प्रचार–प्रसारलाई थप प्रभावकारी र व्यवस्थित ढङ्गले अगाडि बढाउने निर्णयसमेत गरेको छ।

पोडकास्ट सुन्नुहोस