वीरगन्ज-
नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीले नागरिक सचेत र जिम्मेवार भई इमान्दार जनप्रतिनिधि चयन नगरेसम्म दिगो विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभएको छ ।
जाँड–रक्सी, पैसा वा विभिन्न भावनामा परेर आफ्नो अमूल्य मत गलत नेताको हातमा सुम्पिँदा पाँच वर्षसम्म नागरिकले अपमान र दुःख मात्र भोग्नुपर्ने अवस्था आउने उहाँको भनाइ थियो । विगतका गल्तीबाट पाठ सिक्दै योग्य र इमान्दार उम्मेदवारलाई मतदान गर्न उहाँले नागरिकसँग अपिल गर्नुभयो ।
नेपाली काँग्रेस वीरगन्ज महानगरपालिकाको वडा नं. ३२, टेडाँस्थित बुथ कमिटीले आज बिहान आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता द्विवेदीले यो निर्वाचन गाउँघरको मुखिया छान्ने मात्र नभई आगामी पाँच वर्ष देश र जनताको पक्षमा कस्तो नीति निर्माण हुन्छ भन्ने निर्णायक निर्वाचन भएको बताउनुभयो । त्यसैले पूर्ण जिम्मेवारीका साथ योग्य उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङ्गटा शिक्षित, इमान्दार तथा सबै वर्गको भावना बुझ्ने व्यक्ति भएकाले उहाँलाई मतदान गर्न नेता द्विवेदीले मतदातालाई अपिल गर्नुभयो । पार्टी परिवर्तन गर्दै हिँड्ने होइन, जनतामाझ रहने इमान्दार व्यक्ति भएकाले रुङ्गटालाई निर्वाचित गराउनुपर्ने उहाँको भनाइ थियो ।
बुथ सभापति हफिजुल रहमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी स्थानीय नेता, कार्यकर्ता तथा समाजसेवीहरूले खानेपानी, सडक, सरसफाइ, विद्युत्, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत विषयमा रहेका समस्या तथा अपेक्षाहरू खुलस्त रूपमा राखेका थिए ।
उनीहरूले विकास निर्माणका कार्य प्रभावकारी, पारदर्शी र जनउत्तरदायी ढंगले अघि बढाइनुपर्ने आवश्यकता औँल्याएका थिए । स्थानीय इकबाल हुसैन, रामबालक महतो, रामप्रवेशलगायत भद्रभलादमी, समाजसेवी तथा युवाहरूले गुणस्तरहीन विकास र बढ्दो भ्रष्टाचारका विषयमा धारणा राखेका थिए ।
स्थानीयले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिसभा उम्मेदवार अनिल रुङ्गटाले नागरिकका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राथमिकताका आधारमा समाधानका लागि पहल गरिने र जनताको आवश्यकता तथा अपेक्षाअनुसार नीति तथा कार्यक्रम अघि बढाउने उहाँको स्पष्ट भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवं वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, महाधिवेशन प्रतिनिधि प्रकाश श्रेष्ठ, वीरगन्ज नगर सभापति मनिन्द्रलाल नेपाली, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, दिनेश पन्त, मनोज चौधरी, मिनु सिंहलगायतको उपस्थिति रहेको थियो ।













