वीरगन्ज-
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको एक उद्योगमा आज भीषण आगलागी भएको छ। स्थानीय ‘विजया श्री लेमिनेट प्रा.लि.’ मा रहेको बोइलर च्याम्बर पड्किएर आगलागी भएको स्थानीयले अनुमान गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ।
“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए। वारुण यन्त्रहरू केही बेरमै घटनास्थलमा आइपुग्ने र त्यसपछि नियन्त्रणको प्रयास तीव्र पारिने प्रहरीले जनाएको छ।
आगलागी अझै नियन्त्रणमा नआएका कारण उद्योगमा भएको मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त हुन सकेको छैन। आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ र मेसिनरी औजारहरूमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।













