वीरगन्ज-
नेपाल मुस्लिम संघ पर्साका अगुवा नेता तथा कार्यकर्तासँग नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले आज छलफल तथा बैठक गर्नुभएको छ।
नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा वीरगन्ज महानगरपालिकाको परवानीपुरमा सम्पन्न बैठकमा सहभागी वक्ताहरूले समाजलाई विभाजन गर्ने र सामाजिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने तत्वलाई परास्त गर्न योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
बैठकमा सहभागी नेपाली काँग्रेस पर्साका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीले शान्ति र सद्भावयुक्त समाजबाट मात्रै विकास सम्भव हुने उल्लेख गर्दै समाजलाई विभाजन गर्ने तथा धार्मिक वा जातीय द्वन्द्व सिर्जना गर्ने व्यक्तिलाई मतदान नगर्न अपिल गर्नुभयो। नेपाली काँग्रेस सर्वधर्म सद्भावको सिद्धान्तलाई आत्मसात गर्दै सबैको हितका लागि काम गर्ने पार्टी भएकाले काँग्रेसका उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो।
उहाँले पछिल्लो ४–५ वर्षयता राजनीतिक लाभका लागि पर्साका केही नेताहरूले सामाजिक समरसता बिगार्ने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्ता नेतालाई अस्वीकार गरी समाजको उन्नति, विकास र सद्भाव प्रवर्द्धन गर्ने नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटालाई मतदान गर्न अपिल गर्नुभयो।
नेता द्विवेदीले उम्मेदवार रुङ्गटा योग्य, इमानदार र सामाजिक सद्भावमा विश्वास गर्ने व्यक्ति भएकाले रुख छापमा मतदान गरी उहाँलाई विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभयो।
कार्यक्रममा उम्मेदवार अनिल कुमार रुङ्गटाले सहमति, सहकार्य र सद्भावबाट मात्रै सबैको विकास सम्भव हुने मान्यतालाई आफूले आत्मसात गरेको बताउनुभयो। उहाँले नेपाली काँग्रेस हिन्दु, मुस्लिम, सिख, इसाई, बौद्ध लगायत सबै समुदायको अधिकार र विकासका लागि लड्ने पार्टी भएकाले समाजविरोधी गतिविधिबाट सचेत रहँदै सबैलाई एकताबद्ध गर्दै अघि बढ्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो।
त्यस्तै, कार्यक्रममा सहभागी नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले उम्मेदवार रुङ्गटा स्वच्छ छविका इमानदार व्यक्ति भएकाले उहाँलाई मतदान गर्न आम मतदातासँग अपिल गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति महमद सहाबुदिनले वीरगन्जमा धार्मिक सद्भाव बिग्रनुमा वीरगन्ज महानगरपालिकाका पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको भूमिका रहेको आरोप लगाउनुभयो। उहाँले जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल सरकारलाई पठाएको प्रतिवेदनमा उनीहरू धार्मिक हिंसा फैलाउने गतिविधिमा संलग्न रहेको उल्लेख भएको दाबी गर्नुभयो।
कार्यक्रममा नेपाल मुस्लिम संघका पदाधिकारी, सदस्यहरू तथा नेपाली काँग्रेस पर्साका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।













