२०८२ माघ १४ गते, बुधबार १७:४१

अनिल रुङटालाई विजयी गराउन नेपाल महिला संघ सक्रिय, पर्सा क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र

वीरगन्ज –

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाको पक्षमा चुनावी माहोल सिर्जना गर्न नेपाल महिला संघले आफ्नो सक्रियता बढाएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संघले सांगठनिक सशक्तीकरण र निर्वाचन रणनीतिका विषयमा बुधबार वीरगन्जमा महत्वपूर्ण बैठक सम्पन्न गरेको हो।

नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा भएको उक्त बैठकमा उम्मेदवार रुङटाले महिला संघको सशक्त भूमिकाले नै पार्टीलाई निर्वाचनमा सफलता दिलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाको हक-अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारी मेरो प्राथमिकताका विषय हुन्। आगामी दिनमा जनताको विश्वास जित्ने गरी उत्तरदायी राजनीति गर्न म प्रतिबद्ध छु।”

बैठकमा विशेष अतिथिको रूपमा बोल्दै राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरूलाई कांग्रेसको ‘मेरुदण्ड’ का रूपमा चित्रण गर्नुभयो। लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको संरक्षणका लागि महिलाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले संघलाई अझ संगठित र क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति र सिद्धान्त पुर्‍याउन महिला संघले अग्रणी भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एकताबद्ध भएर अनिल रुङटालाई विजयी बनाउन सम्पूर्ण कार्यकर्तालाई आह्वान समेत गर्नुभयो।

बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पार्टी सचिव इम्तियाज आलम, अतिथिहरू अनिल सिंह र प्रकाश उपाध्याय, महिला संघकी केन्द्रीय सदस्य किरण सरकार लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकले आगामी दिनमा संघलाई अझ सक्रिय बनाउँदै पार्टी संगठन मजबुत पार्ने र टोल-टोलमा पुगेर जनमत सिर्जना गर्ने निष्कर्ष निकालेको छ। सभापति किरण शर्माले धन्यवाद ज्ञापन गर्दै बैठक समापन गर्नुभएको थियो।

पोडकास्ट सुन्नुहोस