वीरगन्ज
पर्सा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार रिमा यादवप्रति जनलहर दिनप्रतिदिन बढ्दै गएको छ। सोमबार पर्सागढी नगरपालिका वडा नम्बर ८ अन्तर्गत रमौली, टाडी र हरपुरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक र उल्लासमय सहभागिता देखिएको हो ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले अघिल्ला जनप्रतिनिधिहरूले चुनावताका गरेका आश्वासनहरू कार्यान्वयन हुन नसक्दा क्षेत्रको अपेक्षित विकास हुन नपाएको गुनासो व्यक्त गरेका थिए। उनीहरूले अब काम गर्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे।
सो अवसरमा उम्मेदवार यादवले आफू यस क्षेत्रको समग्र विकासकै लक्ष्य लिएर राजनीतिमा आएको बताउदै गफ होइन, काम गरेर देखाउने प्रतिबद्धता जनाइन्। उनले झुटा आश्वासन नदिने र कानुनले दिएको अधिकारको दायराभित्र रहेर जनताको हितमा पर्ने सबै सम्भव काम गर्ने स्पष्ट पारिन्।
यादवले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य छापमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष अनुरोधसमेत गरिन्। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













