वीरगन्ज-
प्रश्नको जवाफ नदिई पूर्वमन्त्री प्रदीप यादव कठडा सुरक्षामा बाहिरिको नगवाका युवाहरूले उठाएका सबै जिज्ञासाको जवाफ नेपाली कांग्रेसका युवा उम्मेदवार अनिल कुमार रुङ्गटाले दिएपछि युवाहरू हर्षित भएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादवले युवाहरूको प्रश्नको सामना गर्न नसकी प्रहरीको सहयोगमा कार्यक्रमस्थल छाडेको आरोप नागवका स्थानीय युवाहरूले लगाएका छन्। त्यसपछि कांग्रेसका उम्मेदवार अनिल रुङ्गटाले ती सबै प्रश्नहरूलाई सम्बोधन गर्दा युवाहरू सन्तुष्ट देखिएका हुन्।
चुनावी प्रचारका क्रममा मंगलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित वीरगन्ज–१६ नगवा पुगेका उम्मेदवार रुङ्गटाको कार्यक्रममा सहभागी स्थानीय युवाहरूले राखेका जिज्ञासाको उनले सहज र स्पष्ट जवाफ दिएका थिए। युवाहरूले रोजगारीको अवस्था, नगवामा देखिएका सडक तथा नालाका समस्या, वीरगन्ज चिनी कारखाना सञ्चालन हुने–नहुने विषय, विकासमा युवाको सहभागिता लगायतका प्रश्न उठाएका थिए।
युवाहरूले विगतमा चुनावका बेला मात्र नगवामा आउने गरेकोप्रति प्रश्न उठाउँदा उम्मेदवार रुङ्गटाले गत निर्वाचनमा पराजित भएपछि नगवामा नियमित रूपमा नआउनु आफ्नो ठूलो कमजोरी भएको स्वीकार गर्दै अब त्यस प्रकारको गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचित भएको एक महिनाभित्रै नगवावासीले सडक तथा नाला जस्ता आधारभूत समस्यामा सुधारको अनुभूति गर्ने दाबी पनि उहाँले गर्नुभयो।
युवाहरूको आर्थिक तथा सामाजिक विकासका लागि नारायणी रंगशालाको पुनर्निर्माण कार्य सुरु गर्ने र बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योग स्थापना गर्न अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता रुङ्गटाले व्यक्त गर्नुभयो। आफूले सञ्चालन गरेको उद्योगमा ९५ प्रतिशत नेपाली कामदार रहेको र नेपालमा उपलब्ध नभएका ५ प्रतिशत प्राविधिक जनशक्ति भारतबाट ल्याइएको स्पष्ट पार्नुभयो।
विगतमा यस क्षेत्रबाट निर्वाचित नेताहरूले गर्न नसकेको काम आफूले गरेर देखाउने दाबी गर्दै रुङ्गटाले भन्नुभयो, “म धेरै बोल्ने मान्छे होइन, म काम गरेर देखाउँछु। मेरो सबैभन्दा ठूलो शक्ति तपाईंहरू नै हुनुहुन्छ।” नगवाको समग्र विकास आफ्नो प्राथमिकतामा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो।
उम्मेदवार रुङ्गटाले युवाहरूका जिज्ञासामा चित्त बुझ्दो जवाफ दिएपछि सहभागी युवाहरूले नेपाली कांग्रेसलाई नै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा वीरगन्ज–१६ का बुथ सभापति बाबुनन्द चौरसियाले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले घर–घरमा पुगेर कांग्रेसको नीति, सिद्धान्त र उम्मेदवार अनिल रुङ्गटाका एजेन्डा प्रचार गर्न कार्यकर्तालाई आग्रह गर्दै यस निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।













