२०८२ माघ २४ गते, शनिबार १८:२८

आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

काठमाडौं –

आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ ।

विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

आजकै सबैभन्दा चर्चित खेल भने आयोजक भारत र अमेरिकाबीच हुनेछ । समूह ‘ए’ कै यो खेल साँझ ७ः१५ बजे मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा सुरु हुनेछ । यस खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिने आईसीसीले जनाएको छ ।

उद्घाटन समारोहमा भारतीय कलाकार ऋषभ शर्मा, शिवमणि, ¥यापर बादशाह र बलिउड अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने कार्यक्रम तय भएको छ । उनीहरूको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाउनेछ ।

यसैबीच, नेपालले आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ । पहिलो खेलमै बलियो टोली इंग्ल्यान्डसँगको भिडन्तले नेपाली टोलीको विश्वकप यात्रा कस्तो रहने भन्ने संकेत गर्नेछ ।

पोडकास्ट सुन्नुहोस