वीरगन्ज –
उज्यालो नेपाल पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग) ले आफ्नो चुनाव प्रचार अभियानलाई तीव्र बनाउनुभएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उद्देश्य र योजनाहरू नागरिकको घर–घरमा पुर्याउने लक्ष्यसहित उम्मेदवार सिंह मतदातासँग प्रत्यक्ष भेटघाटमा जुट्नुभएको हो।
यसै क्रममा आज उहाँले वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवाका आम मतदातालाई घरआँगनमै भेटेर पार्टीको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो। भेटघाटका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुन्नुभयो। साथै युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन युवाबाटै सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
युवालाई रोजगारी र गाउँ–समाजको विकासका विषयमा काठमाडौं वा सहरकेन्द्रित सोच आवश्यक नरहेको उल्लेख गर्दै गाउँमै बसेर रोजगारी सिर्जना र समग्र विकास सम्भव रहेको उहाँले बताउनुभयो।
उहाँले वीरगन्ज महानगरपालिका वडा नं. २० मा निर्वाचित भएर गरेका काम र त्यहाँबाट हासिल गरेको अनुभव अब संघीय संसदसम्म पुर्याउने प्रतिबद्धता पनि जनाउनुभयो।
घरदैलोका क्रममा भेटिएका मतदाताहरूले परिवर्तन आवश्यक रहेको बताउँदै उज्यालो नेपालले थालेको अभियानमा आफूहरू एकाकार हुने आश्वासन दिएको उम्मेदवार परागले जानकारी दिनुभयो।













