वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामनरेश यादवले आज वीरगन्जको मुर्ली र राधेमाई टोलमा घरदैलो कार्यक्रम गर्दै चुनावी प्रचारलाई तीव्र बनाउनुभएको छ। यस क्रममा उहाँले वीरगन्ज महानगरपालिका वडा नं. १२ र १३ का मतदातासँग भेटघाट गरी जसपाको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न आग्रह गर्नुभयो।
घरदैलोका क्रममा उम्मेदवार यादवले आम मतदाताको घर–घरमा पुगेर मधेस आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदको रगतलाई अपमानित गर्ने पार्टी तथा उम्मेदवारले दिने झुटा आश्वासन र प्रलोभनमा नपर्न आग्रह गर्नुभयो। मधेस आन्दोलनका उपलब्धिलाई कमजोर बनाउँदै पद र पैसाका लागि राजनीति गर्नेहरूले जनताको वास्तविक समस्या नबुझ्ने बताउँदै उहाँले मधेस आन्दोलनको नेतृत्वकर्ता पार्टी जसपाको चुनाव चिन्हमा मतदान गर्न अपिल गर्नुभयो।
घरमै भोट माग्न पुगेका उम्मेदवार यादवलाई स्थानीय मतदाताले मधेस आन्दोलन र त्यसका शहीदलाई अपमान गर्नेलाई कुनै हालतमा भोट नदिने आश्वासन दिएको उहाँले सञ्चारकर्मीसँग बताउनुभयो। मुर्ली क्षेत्रमा पुग्दा स्थानीयवासीले खुलेर स्वागत गर्दै निधारमा टीका लगाइ दही खुवाएर जितको शुभकामना दिएको पनि उहाँले उल्लेख गर्नुभयो।
घरदैलो कार्यक्रममा उम्मेदवार यादवसँगै जसपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनील शर्मा, वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानुलगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।













