वीरगन्ज-
परिवर्तनको तीव्र चाहना बोकेका पर्सा ताजपुरका बासिन्दाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तलाई स्वागत गर्न एउटा अनौठो र भावुक शैली अपनाएका छन्। बुधबार घरदैलोका लागि ताजपुर पुग्नुभएका पन्तलाई स्वागत गर्न त्यहाँका चोक, चौतारी र गल्लीहरूमा स्थानीयले विभिन्न रंगको प्रयोग गरी आकर्षक ‘घण्टी’ चिन्ह बनाएर सजिएका थिए।
चुनावी प्रचारका क्रममा प्रायः भित्ते लेखन र ब्यानरहरू देखिने गरे पनि ताजपुरमा भने दृश्य फरक थियो। स्थानीय युवा र महिलाहरूले आफ्नै घर-आँगन र गाउँका चोकहरूमा रंगोली झैँ घण्टी चिन्ह बनाएर रास्वपाप्रति आफ्नो भरोसा व्यक्त गरेका छन्। उम्मेदवार पन्त गाउँ प्रवेश गर्दा त्यहाँको माहोल उत्सवमय बनेको थियो।
भेटघाटको क्रममा ताजपुरका मतदाताहरूले यसपटक कुनै लोभ वा दबाबमा नभई मुलुकको भविष्यका लागि मतदान गर्ने बताए। “हामीले वर्षौँसम्म उही पुराना अनुहारलाई हेर्यौँ, तर यसपटक परिवर्तनको सम्वाहक घण्टी नै हो भन्नेमा हामी स्पष्ट छौँ,” एक स्थानीयले भने, “यो चुनाव हाम्रो मात्र होइन, हाम्रा सन्तानको भविष्यको पनि हो।”
स्थानीयको यस्तो आत्मीय स्वागतबाट भावुक बन्नुभएका उम्मेदवार हरि पन्तले यो प्रेमले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो। “ताजपुरका चोक-चौतारीमा कोरिएका यी घण्टीहरू केवल चुनावी चिन्ह मात्र होइनन्, यी त सुशासन र समृद्धिका लागि तपाईँहरूले देख्नुभएको सपना हुन्,” पन्तले भन्नुभयो, “रास्वपाको जित नै समग्र मुलुकको जित हो, त्यसैले यसपटक घण्टीमा मतदान गरी परिवर्तनको साक्षी बन्न म आग्रह गर्दछु।”
घरदैलोमा युवादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिताले ताजपुरमा रास्वपाको पक्षमा बलियो जनलहर सिर्जना भएको स्पष्ट देखिएको छ।













