२०८२ फाल्गुन १२ गते, मंगलवार १८:२९

गहवा र रामटोलमा हरि पन्तको भव्य घरदैलो: घण्टी बजाएर स्थानीयले दिए साथ

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति एवं पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा सोमबार वीरगन्जको गहवा र रामटोलमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयले उत्साहजनक समर्थन जनाएका छन्।

पन्तको समर्थनमा गहवा र रामटोलबासीहरू सयौँको संख्यामा सडकमा ओर्लिएका थिए। घरदैलोका क्रममा धेरैजसो स्थानीयले आ-आफ्नो घरको झ्याल र कौसीबाट घण्टी बजाएर पन्तलाई स्वागत र ऐक्यबद्धता जनाएका थिए।

 उम्मेदवार पन्तलाई स्थानीयले घर-घरमा टीका, माला र पुष्पगुच्छा अर्पण गर्दै माया र आशीर्वाद दिएका थिए। भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले “यसपालि परिवर्तन गरेरै छाड्ने” अठोट व्यक्त गरे। पुराना दलहरूबाट वाक्क भएका र नयाँ भिजन खोजिरहेका मतदाताहरूले पन्तलाई भरोसाको केन्द्रका रूपमा हेरेको बताएका छन्।

चुनावी अभियानलाई सफल बनाउन स्थानीय युवाहरूले कडा परिश्रम गरेका थिए। कार्यक्रमलाई निरज गुप्ता, सुमित कादमिया, अविनाश गुप्ता, विकास गुप्ता, छोटु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुशवाहा, आकाश गुप्ता, साहिल, अजय साह, करण साह, सन्तोष खेतान, रोशन खेतान लगायतका युवाहरूको सक्रिय नेतृत्वमा सम्पन्न गरिएको थियो।

युवाहरूको यो ठूलो लावालस्कर र स्थानीयको सक्रिय सहभागिताले पर्सा-१ मा रास्वपाको पक्षमा बलियो लहर सिर्जना भएको विश्लेषण गरिएको छ।

पोडकास्ट सुन्नुहोस