२०८२ फाल्गुन १२ गते, मंगलवार १८:२४

वीरगन्जमा ‘पराग’ को पक्षमा जनलहर: पुराना दललाई बहिष्कार गर्ने र उज्यालो नेपाललाई रोज्ने स्थानीयको उद्घोष

वीरगन्ज-

पर्सा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग) को पक्षमा जनसमर्थन चुलिएको छ। सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को मुरली गाउँ र वडा नम्बर ८ को मुरली बगैंचा तथा पानीटंकी टोलमा उम्मेदवार सिंह पुग्दा स्थानीयले फूलमाला र खादाले भव्य स्वागत गर्दै ‘विजयाभव’ को आशीर्वाद दिएका छन्।

घरदैलोका क्रममा स्थानीय मतदाता, विशेषगरी युवाहरूले विगतका दल र उम्मेदवारहरूप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन्। “विगतका नेताले चुनावमा आश्वासन मात्र दिए, जितेपछि अनुहार देखाएनन्,” एक स्थानीय युवाले आक्रोश पोखे, “यस पटक हामी युवालाई प्रयोग गर्नेहरूलाई बहिष्कार गर्छौँ र परिणाममुखी नयाँ नेतृत्वका रूपमा पराग सिंहलाई साथ दिन्छौँ।”

भेटघाटका क्रममा स्थानीयले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरेर काम गर्ने नेतृत्वको परिचय दिएको चर्चा गर्दै उहाँकै पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग) लाई भरपर्दो विकल्पका रूपमा स्विकारेका छन्।

मतदाताका गुनासो सुन्दै उम्मेदवार सिंहले भन्नुभयो- “म गफ होइन, काममा विश्वास गर्छु। वीरगन्ज -२० मा वडाध्यक्षका रूपमा मैले गरेको काम तपाईंहरूका सामु छ। अब त्यही अनुभवलाई संघीय संसदमा पुर्‍याएर यहाँका स्थानीय कलकारखानामा हाम्रै स्थानीय युवाहरूलाई रोजगारीको पहिलो प्राथमिकता दिलाउने मेरो सङ्कल्प छ।”

 सिंहले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र चुनाव जितेपछि जनताको सम्पर्कमै रहने बाचा गर्नुभयो। स्थानीयवासीले सिंहको सादगी र स्पष्ट भिजनको प्रशंसा गर्दै चुनावी मैदानमा विजयका लागि अग्रिम शुभकामना समेत दिएका छन्। घरदैलो कार्यक्रममा सयौँको संख्यामा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस