२०८२ फाल्गुन १४ गते, बिहीबार ११:२६

रुङ्गटाको घरदैलो अभियान तीव्र, लक्ष्मणवामा उत्साहजनक स्वागत

वीरगन्ज-

  निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ। मतदान हुन अब मात्र ७ दिन बाँकी रहँदा उम्मेदवारहरूले आफ्नो प्रचार अभियानलाई तीव्र बनाएका छन्। दलगत तथा स्वतन्त्र उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र जनसम्पर्क अभियानमा सक्रिय देखिएका छन्।

यसै क्रममा नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले बिहीबार बिहानै वीरगन्ज महानगरपालिका वडा नं. १५, लक्ष्मणवामा सशक्त घरदैलो अभियान सञ्चालन गर्नुभयो।

नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिमा पुगेका रुङ्गटालाई स्थानीय बासिन्दाले फूलमाला र अबिरको टीका लगाई भव्य स्वागत गरेका थिए। घरदैलोको क्रममा रुङ्गटाले आम मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ छापमा मतदान गर्न आग्रह गर्नुभयो।

मत माग्न पुगेका रुङ्गटाप्रति स्थानीय बासिन्दाले सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तनका लागि मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले विगतमा निर्वाचित प्रतिनिधिबाट अपेक्षित विकास हुन नसकेको गुनासो गर्दै देशको सबैभन्दा पुरानो र विश्वासिलो पार्टी नेपाली काँग्रेसलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।

वडा नं. १५ का पूर्व वडाध्यक्ष गजेन्द्र यादवको अगुवाइमा सम्पन्न उक्त घरदैलो कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भोला साह कलवार, क्षेत्र नं. १ का उपक्षेत्रीय सभापति अनिल सिंह, प्रकाश उपाध्याय, किरण सरकार, दिनेश पन्त लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रुङ्गटाको सक्रियता र जनसम्पर्क अभियानले निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसको पक्षमा माहोल थप बलियो बन्दै गएको देखिएको छ।

पोडकास्ट सुन्नुहोस