२०८२ फाल्गुन १५ गते, शुक्रबार १८:१५

पर्सा–१ मा रास्वपाको बढ्दो प्रभाव: परसौनी बिर्तामा रात्री कोणसभा सम्पन्न, एक सयभन्दा बढी पार्टी प्रवेश

वीरगन्ज-

आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बलियो बन्दै गएको छ। बिहीबार साँझ वीरगन्ज महानगरपालिका–२३, परसौनी बिर्ता चोकमा आयोजित भव्य रात्री कोणसभाका बीच विभिन्न पार्टी परित्याग गरी १०० जनाभन्दा बढी स्थानीय युवा तथा नेताहरू रास्वपामा प्रवेश गरेका छन्।

कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले नेपाली जनता अब सचेत भइसकेको र पुराना दलहरूको आश्वासनमा नझुक्किने दाबी गर्नुभयो। “यसपटकको निर्वाचनमा जनताले सही र योग्य उम्मेदवार चुन्नेछन्,” पन्तले भन्नुभयो, “परसौनी बिर्ताका जनताले देखाएको यो उत्साह र दिनहुँ भइरहेको पार्टी प्रवेशले मेरो जित सुनिश्चित गरिसकेको छ।”

उहाँले क्षेत्र नं. १ का बासिन्दाको अवस्था बदल्न र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको भन्दै यसपटक मतदाताले घण्टी चिन्हमा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिनेमा ढुक्क रहेको बताउनुभयो।

जितेन्द्र महतोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रास्वपाका नेताहरू सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादव लगायतले सम्बोधन गर्दै देशको मुहार फेर्न रास्वपा नै एक मात्र विकल्प रहेको उल्लेख गर्नुभयो। कृष्ण दासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गर्नुभएको थियो।

कार्यक्रममा परसौनी बिर्ताका स्थानीय बासिन्दाहरूको ठूलो उपस्थिति रहेको थियो। रात्रीकालीन समयमा समेत सर्वसाधारणको उल्लेख्य सहभागिताले रास्वपाप्रति जनताको बढ्दो आकर्षण र भरोसालाई पुष्टि गरेको छ।

पोडकास्ट सुन्नुहोस