२०८२ फाल्गुन १५ गते, शुक्रबार १८:१९

वीरगन्जमा पण्डित जटाशंकर तिवारी गुरुकुल आश्रमको समुद्घाटन: सबै जातजातिलाई निःशुल्क शिक्षा दिइने

वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं. १८, इनर्वा मनयारीमा शुक्रबार एक भव्य धार्मिक तथा सांस्कृतिक समारोहका बीच ‘पण्डित जटाशंकर तिवारी गुरुकुल आश्रम’ को विधिवत् उद्घाटन गरिएको छ। वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने पवित्र उद्देश्यले स्थापित यस आश्रमको समुद्घाटनसँगै सम्मान समारोह पनि सम्पन्न भएको छ।

आश्रमका संस्थापक पण्डित जटाशंकर तिवारीका सुपुत्र एवं कार्यक्रमका अध्यक्ष राजन कुमार तिवारीले गुरुकुलमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि कुनै पनि शुल्क नलाग्ने घोषणा गर्नुभयो। “हाम्रो उद्देश्य व्यापार होइन, संस्कारयुक्त समाज निर्माण हो,” तिवारीले भन्नुभयो, “यहाँ कुनै पनि जातजातिको भेदभाव विना सबैले निःशुल्क रूपमा वैदिक शिक्षा र अध्यापनको अवसर पाउनेछन्।”

कार्यक्रमका प्रमुख अतिथि डा. सुरेन्द्रनाथ तिवारीले दीप प्रज्वलन गरी समारोहको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारी, पण्डित देवनाथ उपाध्याय, पण्डित नरेन्द्र तिवारी, पण्डित हरिनारायण मिश्र, र पण्डित कामेश्वर मिश्रको उपस्थिति रहेको थियो।

त्यस्तै, डा. पुरुषोत्तम दुबे, तेज शमशेर ज.ब.रा., बाबा बजरङ्गी दास, रामचन्द्र राउत कुर्मी, ओमप्रकाश साह कानु, र मदन राउत कुर्मीको पनि विशिष्ट आतिथ्य रहेको थियो। अतिथिहरूका रूपमा अभिषेक तिवारी, प्रकाश उपाध्याय, गजेन्द्र पटेल (पूर्व वडा अध्यक्ष, वि.म.न.पा.–१५), विशाल झा, रन्जन सिंह राजपुत, कृष्ण चौरसिया, राम अयोध्या महतो, विशाल तिवारी, र राजकुमार सिंह लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सोही अवसरमा हिन्दू धर्म र संस्कृतिको उत्थानमा सञ्चार क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएको भन्दै ‘हिन्दू पत्रकार संघ नेपाल’ लाई दोसल्ला र सम्मान पत्रले विभूषित गरियो।

नेपाल विश्व हिन्दू महासंघ पर्साको सहयोगमा आयोजित यस कार्यक्रममा वक्ताहरूले गुरुकुलको स्थापनाले समाजमा आध्यात्मिक चेतना र अनुशासनको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

पोडकास्ट सुन्नुहोस