वीरगन्ज-
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले चुनावी प्रचारलाई तीव्रता दिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का तर्फबाट उम्मेदवार रहेका यादवले शुक्रबार एकै दिन वीरगन्ज महानगरपालिका वडा नं. २२ र २३ का बासिन्दासँग भेटघाट गर्दै मत मागेका हुन्।
बिहानै मनियारी पुगेका उम्मेदवार यादवले मतदातासँग भेट गर्दै जसपाको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न अपिल गरे। पूर्वमन्त्री प्रदीप यादवको गाउँमा पुगेका उम्मेदवार यादवसँग भेट्दै स्थानीय मतदाताले जसपाका उम्मेदवारलाई दुई–दुई पटक मत दिएर जिताउँदा समेत अहिले पनि सडक र नालाको समस्या भोग्नुपरेको गुनासो गरेका थिए।
स्थानीय बासिन्दाले “यहाँका विद्यालयमा गुणस्तरीय पठनपाठन हुँदैन, सडकको अवस्था पनि दयनीय छ” भन्दै असन्तुष्टि व्यक्त गरेको जसपा महानगर अध्यक्ष धनश्याम गुप्ताले जानकारी दिए। पूर्वमन्त्रीकै गाउँमा सडक, पानी र शिक्षा जस्ता आधारभूत सुविधा नहुनुले प्रचारमुखी राजनीति मात्र भएको प्रस्ट देखिने उनले बताए।
त्यसैगरी, वडा नं. २३ परसौनीका घरदैलो कार्यक्रममा सहभागी मतदाताले छाता छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भोट माग्न गाउँ पुगेका उम्मेदवार यादवलाई स्थानीयले फूलमालाले स्वागत गर्दै मधेसीको अधिकार र सम्मानका लागि संघर्षरत जसपालाई समर्थन गर्ने विश्वास व्यक्त गरेका थिए।
घरदैलोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार यादवले पूर्वमन्त्रीकै गाउँमा आधारभूत सुविधा अभाव देख्दा आफूलाई दुःख लागेको प्रतिक्रिया दिए। “मनियारीको मुख्य सडकबाहेक भित्री गल्लीका बासिन्दाले वर्षामा हिलो र गर्मीमा धुलो सहनु परेको अवस्था अझै यथावत छ,” उनले भने।
उनले दुई–दुई पटक मन्त्री हुँदा समेत आफ्नै गाउँमा आधारभूत सुविधा विस्तार गर्न नसक्नुले समग्र क्षेत्र नं. १ को विकासप्रति प्रश्न उठाएको बताए। मनियारीको दलित बस्तीको अवस्था अझै चिन्ताजनक रहेको उल्लेख गर्दै उनले त्यहाँ न सडक छ, न नाला; स्थानीयहरू अरूको आँगन हुँदै आवतजावत गर्न बाध्य रहेको दाबी गरे।
क्षेत्र नं. १ का अधिकांश ग्रामीण बस्तीको अवस्था मनियारीकै दलित बस्ती जस्तै रहेको उनको भनाइ थियो। “मतदाताले विश्वास गरेर दुई–दुई पटक निर्वाचित गरे पनि अपेक्षित विकास हुन सकेको छैन,” उनले आरोप लगाए।
जसपा नेपालको घरदैलो कार्यक्रममा पार्टीका महासचिव एवं मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, केन्द्रीय सदस्यहरू वीरन्द्र यादव, रेखा साह, बलिराम यादव, सुरेन्द्र कुर्मी, करिमा बेगम, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।













