वीरगन्ज-
नेपाली काँग्रेसका सभापति गगन कुमार थापा आज वीरगन्जमा आयोजना हुने ‘मधेस प्रतिज्ञा सभा’मा सम्बोधन गर्न आउँदै छन्। वीरगन्जको घण्टाघर चोक नजिक रहेको विपी उद्यानमा नेपाली काँग्रेस पर्साले आयोजना गर्न लागेको उक्त सभालाई थापासहित पार्टीका केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
काँग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार, सभामा समसामयिक राजनीतिक परिस्थितिबारे स्पष्ट धारणा राख्नुका साथै आगामी पाँच वर्षभित्र काँग्रेसले गर्ने ठोस काम र योजना सार्वजनिक गरिनेछ। “जनताले भाषण होइन, परिणाम खोजिरहेका छन्। सभापति थापाले ठोस कार्ययोजना र विकासको खाका सार्वजनिक गर्नुहुनेछ,” क्षेत्रीले जानकारी दिए।
अपराह्न २ बजेदेखि सुरु हुने सभालाई भव्य र सशक्त बनाउन विशेष तयारी गरिएको छ। मैथिली, भोजपुरी, थारू लगायतका भाषामा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ, जसले मधेसको सांस्कृतिक पहिचान र विविधतालाई उजागर गर्ने आयोजकको दाबी छ।
काँग्रेसका अनुसार, थापाले भ्रष्टाचार, सुशासन, युवा रोजगारी, आर्थिक पुनरुत्थान र संघीयताको प्रभावकारी कार्यान्वयनका विषयमा आक्रामक र स्पष्ट धारणा राख्ने तयारी गरेका छन्। मधेसका मुद्दालाई केन्द्रमा राख्दै पार्टीको आगामी रणनीति सार्वजनिक गरिने जनाइएको छ।
सभापति थापाको आजै चार जिल्लामा आमसभालाई सम्बोधन गर्ने व्यस्त तालिका रहेको छ। उहाँले सर्लाहीको लालबन्दी, रौतहट, बारा हुँदै वीरगन्जमा सभा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
वीरगन्जमा आयोजना हुन लागेको ‘मधेस प्रतिज्ञा सभा’लाई काँग्रेसले शक्ति प्रदर्शनका रूपमा लिएको छ भने यसले मधेसको राजनीतिक माहोल थप तातेको संकेत गरेको छ।













