२०८२ फाल्गुन १६ गते, शनिबार १३:४६

कोनिहामा रिमा यादवको भव्य घरदैलो: विकास र रोजगारीलाई मुख्य एजेण्डा बनाउँदै सूर्यमा मतदान गर्न आग्रह

वीरगन्ज –

आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (एमाले) की उम्मेदवार रिमा कुमारी यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. १७ कोनिहामा उम्मेदवार यादवले प्रभावकारी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको हो।

घरदैलोका क्रममा उम्मेदवार यादव कोनिहाका विभिन्न टोल र बस्तीका घर–घरमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्नुभयो। स्थानीय बासिन्दाले उहाँलाई भव्य स्वागत गर्दै क्षेत्रको समस्या र अपेक्षाका बारेमा जानकारी गराएका थिए। विशेषगरी खानेपानीको समस्या, सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास र युवा बेरोजगारीका विषयमा स्थानीयले उम्मेदवारको ध्यानाकर्षण गराएका थिए।

मतदाताहरूसँगको भेटमा उम्मेदवार यादवले आफूले क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र आधारभूत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। “म गफ होइन, काममा विश्वास गर्छु। कोनिहाका जनताका हरेक गुनासा र सुझावलाई मेरो कार्यकालमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो।

उहाँले रोजगारी सिर्जना र युवा सशक्तीकरणका लागि ठोस योजनाका साथ आफू मैदानमा उत्रिएको उल्लेख गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो।

उक्त घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता-कार्यकर्ता, युवा संघ, अखिल नेपाल महिला संघ (अनेमसंघ) लगायतका भातृ संगठन र समर्थकहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। कोनिहामा भएको यो शक्ति प्रदर्शन र जनसहभागिताले चुनावी माहोल एमालेको पक्षमा थप बलियो बनेको स्थानीय नेताहरूले दाबी गरेका छन्।

पोडकास्ट सुन्नुहोस