वीरगन्ज–
वीरगन्ज महानगरपालिका–१६ नगवामा शनिबार नेपाली काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रमले पर्सा क्षेत्र नं. १ को राजनीतिक माहोल स्पष्ट पारेको छ। क्षेत्र नं. १ कै सबैभन्दा बढी मतदाता रहेको नगवामा आयोजित कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिताले नेपाली काँग्रेसको पक्षमा बलियो वातावरण बनेको संकेत दिएको छ।
नेपाली काँग्रेस वडा नं. १६ का बुथ सभापति बाबुनन्द चौरसियाको अगुवाइमा सम्पन्न घरदैलो कार्यक्रममा हजारौं स्थानीयको सहभागिता रहेको बताइएको छ। कार्यक्रममा सहभागी मतदाताले प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार रुङ्गटाप्रति खुला समर्थन व्यक्त गरेको नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले दाबी गर्नुभयो।
उहाँका अनुसार नगवामा मात्र होइन, वीरगन्ज महानगरपालिकाका १९ वटै वडामा काँग्रेस उम्मेदवार रुङ्गटाको घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहँदै आएको छ। “आम मतदाताले उहाँलाई स्वागत गर्दै खुलेर समर्थन जनाइरहेका छन्,” नेता कुर्मीले भन्नुभयो।
अन्य दलहरूले मतदातालाई चुपचाप मतदान गर्न आग्रह गरिरहेको अवस्थामा नेपाली काँग्रेसले भने सम्मानपूर्वक रुख छापमा मतदान गर्न अपिल गरिरहेको उहाँको भनाइ छ। उक्त अपिललाई आत्मसात गर्दै नगवाका हजारौं स्थानीय सडकमा उत्रिएर आफ्नो समर्थन प्रस्ट पारेको नेता कुर्मीले दाबी गर्नुभयो।
अनिल कुमार रुङ्गटा स्वच्छ छविका, इमान्दार र अनुशासित नेता भएकाले आम मतदाताले खुलेर समर्थन गरिरहेको उहाँले बताउनुभयो। साथै, पार्टीका महामन्त्री गगन थापाको “घर फर्क अभियान” पछि पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा सक्रिय भएसँगै काँग्रेस थप सुदृढ बनेको उहाँको दाबी छ।
यस पटकको निर्वाचनमा पार्टीका सबै नेता–कार्यकर्ता एउटै लक्ष्यका साथ एकजुट भएर लागेकाले पर्सा जिल्लाका चारै क्षेत्रमा नेपाली काँग्रेस बलियो अवस्थामा रहेको नेता कुर्मीले उल्लेख गर्नुभयो।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व सभापतिहरू विजय सर्राफ र भोला साह कलवार, नेता बसरुदिन अन्सारी, महाधिवेशन प्रतिनिधि किरण सरकारलगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।













