वीरगन्ज-
नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाको संसदमा उपस्थिती अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको छ।
शनिबार वीरगन्जमा नेपाली काँग्रेस पर्साद्वारा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको पाँच वर्ष आर्थिक विकासका लागि निर्णायक समय भएको उल्लेख गर्नुभयो। उहाँले आर्थिक क्षेत्रको गहिरो ज्ञान र अनुभव भएका रुङ्गटा जस्ता व्यक्तित्व संसदमा पुगेमा “सुनमा सुगन्ध थपिने” बताउनुभयो।
उहाँले विगतका वर्षहरू राजनीतिक अस्थिरता र सरकार गठन–विघटनमै बितेको उल्लेख गर्दै अबको पाँच वर्ष काम गर्ने समय भएको बताउनुभयो। “अब परीक्षणको समय होइन, परिणाम दिने समय हो,” उहाँले भन्नुभयो। आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राख्दै काँग्रेसले स्पष्ट कार्ययोजना र समयसीमा निर्धारण गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सभापति थापाले संसदमा अनुभवी नेता रमेश रिजाल, जिम्मेवार युवा अजय चौरसिया तथा आर्थिक क्षेत्रका जानकार अनिल रुङ्गटा जस्ता प्रतिनिधिहरू आवश्यक रहेको उल्लेख गर्दै पर्साका चारै जना काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो।
देशमा बिग्रिएको राजनीतिक संस्कार सुधार नगरेसम्म नागरिकले वास्तविक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा व्यक्त गर्दै उहाँले जबाफदेहितासहितको राजनीति आवश्यक रहेको बताउनुभयो। “ठूला कुरा गर्ने होइन, काम गरेर देखाउने राजनीति चाहिन्छ,” उहाँले भन्नुभयो। काँग्रेस नेतृत्वको सरकारले कुन काम कति समयमा सम्पन्न गर्ने भन्ने स्पष्ट मापदण्ड तय गरेर सोही समयसीमाभित्र परिणाम दिने प्रणाली विकास गर्ने उहाँको भनाइ थियो।
उहाँले विगतमा आफू स्वास्थ्य मन्त्री हुँदा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै काँग्रेस नेतृत्वको सरकार बनेमा नागरिकलाई औषधि उपचारमा आर्थिक भार नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
“नयाँ–नयाँ भन्नेहरूसँग वास्तवमा केही नयाँ छैन,” उहाँले भन्नुभयो, “नाराले देश बन्दैन, देश बनाउन संकल्प, सपना र काम गर्ने जागर चाहिन्छ।” माओवादीको उदाहरण दिँदै उहाँले केवल नाराले विकास सम्भव नहुने उल्लेख गर्नुभयो।
देशमा विद्यमान बेथिति, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्न काँग्रेस सक्षम रहेको दाबी गर्दै उहाँले चर्का भाषणभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
सभापति थापाले काँग्रेसको पुरानो शक्ति पुनर्जागरण गर्न आफू मधेसबाटै चुनाव लड्ने निर्णय गरेको जानकारी दिनुभयो। सर्लाही–४ बाट उम्मेदवारी दिएको उल्लेख गर्दै मधेसले सधैं काँग्रेसलाई दिएको मायाको ऋण तिर्न आफू मैदानमा उत्रिएको उहाँको भनाइ थियो। मधेसमा रहेका स्वास्थ्य, सिँचाइ, रोजगार र शिक्षासम्बन्धी समस्याहरू समाधान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजाल, क्षेत्र नं. २ का उम्मेदवार अजय चौरसिया तथा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुङ्गटालगायतले सम्बोधन गर्दै काँग्रेसलाई मतदान गरी आर्थिक विकास र सुशासनको मार्गमा देशलाई अघि बढाउन अपिल गर्नुभएको थियो।













